काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले संसदलाई बेवास्ता गर्दै अध्यादेश जारी गर्नु असंगत भएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आयोजित नेपाल प्रेस युनियनको राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै सांसद साउदले संसद प्रारम्भ हुनुअघि केही दिन मात्र बाँकी रहँदा अध्यादेश जारी गर्नु संसदको उपेक्षा गर्नु सरह भएको बताए । उनले अध्यादेश तत्कालीन आवश्यकताका लागि ल्याउने प्रावधान भए तापनि सरकारले आर्थिक विकास र सुशासनका नाममा अध्यादेश ल्याउनु गैरजिम्मेवारपूर्ण भएको तर्क गरे ।
सांसद साउदले संसदलाई बेवास्ता गर्दै शासन चलाउने प्रवृत्ति लोकतान्त्रिक प्रणालीका लागि घातक हुने चेतावनी दिए । ‘प्रजातन्त्रमा संसदलाई बाइपास गरेर कुनै पनि शासन अगाडि बढ्न सक्दैन । संसदले बनाउने कानूनले सुशासन र आर्थिक विकास अवरुद्ध गर्छ भन्ने धारणा गलत छ,’ उनले थपे ।
उनले संसदबाटै आर्थिक विकास र सुशासन प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै सरकारले अध्यादेशको अनावश्यक प्रयोग नगर्नुपर्ने धारणा राखेका थिए । सांसद साउदले सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले गलत प्रवृत्तिलाई प्रश्रय दिएको औंल्याउँदै यसको प्रभावकारी नियमन आवश्यक रहेको बताए । तर, नियमन गर्दा स्वतन्त्र अभिव्यक्तिमाथि हस्तक्षेप गर्न नहुने भन्दै उनले सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन स्पष्ट नीति अवलम्बन गर्न सरकारलाई सुझाव दिए ।




