
काठमाडौँ । राजविराजमा रहेको मधेश कृषि विश्वविद्यालयमा उपप्राध्यापक र कर्मचारीहरुले तालाबन्दी गरेका छन्। उनीहरुले पछिल्लो ६ महिनादेखि तलब र भत्ता नपाएको र अन्य सुविधाहरु पाउन नसकेको भन्दै यस्तो कदम चालेका हुन्। विश्वविद्यालयको प्रशासनिक भवनमा उपकुलपति डा. वैधनाथ महतोलाई बाहिर निकालेर तालाबन्दी गरिएको छ। यसका साथै रजिष्ट्रार, प्रशासन शाखा, प्रशासनिक भवनको मुलगेट र शैक्षिक भवनमा पनि ताला लगाइएको छ।
उपप्राध्यापक र कर्मचारीहरुले क्षतिपूर्तिसहित नियमावली अनुसारको तलबभत्ता र अन्य सुविधा पाउनुपर्ने माग गरेका छन्। उनीहरुले चालु आर्थिक वर्षको भदौदेखि हालसम्मको तलब–भत्ता नपाएको बताएका छन्। विश्वविद्यालयका सह–कुलपति एवं प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीलाई पटक–पटक ज्ञापनपत्र दिँदा पनि कुनै सुनुवाइ नभएकोले उनीहरु चरम आर्थिक संकटमा परेका छन्। उपप्राध्यापक अविनाशकुमार यादवले यो समस्याको समाधानका लागि तालबन्दी गर्नुपरेको बताए।
विश्वविद्यालयको सभाबाट नीति तथा कार्यक्रम पास हुन नसकेको र लालबाबु राउत नेतृत्वको सरकारले नियुक्त गरेका रजिष्ट्रारबाट वर्तमान सरकारले आर्थिक कारोबार खोजेर छानबिन थालेपछि विश्वविद्यालयको आर्थिक कारोबार बन्द छ। जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीबीचको द्वन्द्वका कारण विश्वविद्यालय पछिल्लो समय समस्यामा परेको हो। प्रदेश सरकारले २०७८ साल मंसिर २७ गते सप्तरीको राजविराजमा मधेश कृषि बिश्वविद्यालयको स्थापना गरेको थियो। कृषि, पशु, माछा र खाद्य प्रविधि विज्ञान गरी चारवटा संकायमा पढाई गर्नेगरी स्थापना भएको विश्वविद्यालयको भवन निर्माणका लागि राजविराज नगरपालिकाले वडा नम्बर १२ मा २६ बिघा ८ कठा जग्गा दिएको थियो।