काठमाडौं । संसद बैठक बोलाउन नदिई अध्यादेश ल्याएकोमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । सभामुख देवराज घिमिरले बोलाएको कार्यविधि बैठकमा प्रतिपक्षी माओवादीले कांग्रेससँग आक्रामक प्रतिक्रिया जनाएको हो ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, “अब अध्यादेशमार्फत नै सरकार चलाउने हो भन्ने ठुला दलका प्रमुख सचेतकको भनाइलाई मैले आपत्ति जनाए। यसअघि संसद बिघटन गरिएको हो र ६ वटा अध्यादेशमार्फत सरकार चलाउँछु भन्नु गलत छ।”
पाण्डेले अध्यादेशका विषय वस्तु महत्त्वपूर्ण भएकाले माघ १८ गतेदेखि सुरु हुने संसद बैठकमा यसबारे प्रश्न उठाउने पनि बताएका छन्। उनका अनुसार, विशेष गरी आर्थिक कार्यविधी र उत्तरदायित्व विधेयक संसदमा छलफल भइरहेको अवस्थामा, सोही विधेयकलाई अध्यादेशमार्फत ल्याउनु प्रचलन, नियम र संविधानसँग मेल नखाने तर्क उनले प्रस्तुत गरेका छन्।
सरकारले ल्याएको ६ वटा अध्यादेशका बारेमा गत माघ ४ गते विपक्षी दलहरूले संयुक्त धारणा व्यक्त गरेको उल्लेख गर्दै, माघ १८ गतेदेखि सुरु हुने संसद बैठकमा पनि यस विषयमा प्रश्न उठाइने तयारी गरिएको उनले बताएका छन्।बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतकले अतिरञ्जित तवरले भ्रम फैल्याएको बताएका छन् ।
मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूले भन्दै नभनेको कुरालाई अतिरञ्जना गरिएको स्पष्ट पारे ।
बैठक सकिएपछि प्रमुख सचेतक पाण्डेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक घिमिरेले अध्यादेशबाटै सरकार चलाउने भनेको आरोप लगाएका थिए । सोही कुराको खण्डन गर्दै उजले आफूले बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई कानूनको रुप दिन ढिलाइ भइरहेको र यसले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरिरहेकाले विधेयक छिटो, छरितो रुपमा टुंग्याउनुपर्ने कुरा राख्दा अतिरञ्जना फैल्याइएको बताए ।
उनले कानून निर्माण गर्ने प्रक्रिया छिटो हुनुपर्ने बताए । ‘संसदको सबैभन्दा ठूलो दलले अध्यादेशबाट सरकार चलाइन्छ भन्नेकुरा भन्नुभयो भन्नेकुरा सुनेँ । कानून बनाउने प्रक्रियाको ढिलाइले सरकारलाई अध्यादेश ल्याउन प्रेरित ग¥यो । हामीले कानून बनाउने प्रक्रियालाई गति दिनुप¥यो । यो मैले भनेको कुरालाई उहाँले अतिरञ्जित गरेर अब अध्यादेशले नै मुलुक चलाइन्छ भन्यो भनेर उहाँले बोल्नुभयो’ उनले भने ।
उनले कुनैपनि विधेयक संसदमा पेश भएको कति दिनभित्रमा कानूनको आकार ग्रहण गर्ने हो ? भन्नेकुराको निश्चितता र समयसीमा हुनुपर्ने बताए ।




