राजनीति

कांग्रेस-एमालेले गठबन्धन गरेको पुथा उत्तरगंगामा मतदान जारी

काठमाडौं । रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदका लागि मतदान सुरु भएको छ । नेपाल कांग्रेस र नेकपा एमालेले साझा उम्मेदवार बनाएको यस पालिकामा केही बेरअघिबाट मतदान सुरु भएको हो ।

उपाध्यक्षमा नेपाली कांग्रेस र एमालेबाट एमालेकी केशकुमारी तुलाचन उम्मेदवार बनेकी छिन् भने माओवादी केन्द्रबाट नरपुरा बुढाले उम्मेदवारी दिएका छन् ।

गाउँपालिकामा रहेका १४ वडाका लागि २२ मतदान केन्द्र स्थापना गरिएको छ । यस क्षेत्रमा कूल ११ हजार १ सय ८० मतदाता छन्, जसमा ५ हजार ६ सय ७१ पुरुष र ५ हजार ५ सय ९ महिला मतदाता रहेका छन् ।

निर्वाचन सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार, मतदाताहरू उत्साहपूर्वक मतदान प्रक्रिया सहभागी भइरहेका छन् । मतदान शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सुरक्षाका साथै निर्वाचन व्यवस्थापनका लागि विशेष तयारी गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *