काठमाडौं । रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । सोमवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एकजना रथी आएको तर दलबलसहित अरु अमेरिकी सेना नेपाल आएको भन्नेकुरा सत्य नभएको बताए ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले सो प्रश्न मन्त्री राईलाई गरेकी थिइन् । उनले एक जना रथी आए पनि अरु अमेरिकी सेना नेपाल नआएको प्रष्टयाए ।
मन्त्री राईले भने, ‘यो अमेरिकन सेना आयो भन्ने कुरामा एक जना अमेरिकन रथी आएका हुन् भ्रमणमा । त्योभन्दा अर्को कुरा मलाई जानकारीमा छैन । मलाई त्यस्ता विषयमा जानकारी आइरहन्छ तर उहाँ भ्रमणका लागि आउनु भएको हो । अरु सेनाहरु पूरै दलबलका साथ आएर कहीं बसेको भन्ने कुरा मलाई थाहा छैन । त्यो होइन ।’
त्यस अवसरमा मन्त्री राईले महाकाली करिडोर निर्माणको कामलाई नेपाली सेनाले अघि बढाउने विषयमा आफूले प्राथमिकता दिएको पनि बताएका छन् ।




