देश

सभापति देउवाद्वारा छठी माताको पूजा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले छठी माताको पूजा अर्चना गरेका छन् । आज साँझ थापाथलीस्थित बागमती किनारमा निर्माण गरिएको पूजा स्थलमा पुगेर उहाँले छठी माताको पूजा गरेका हुन् ।

सभापति देउवाले सो स्थानमा राखिएको छठी माताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका हुन् । सभापति देउवालाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र छठ पूजा समिति थापाथली (हाल कुपण्डोल) का संयोजक सतीशकुमार झाले स्वागत गरेका थिए । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अघ्र्य दिइ पूजा गरिन्छ ।

संयोजक झाका अनुसार नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसाल, नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्कालगायत विशिष्ट व्यक्तित्वसमेत कुपोण्डोल घाट पुगेर छठ पूजामा सहभागी भएका थिए ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दान गरेमा मनले चिताएको पूरा हुने सूर्यपुराणलगायत धार्मिक ग्रन्थमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *