विश्व

भारत र चीन बीच सीमा क्षेत्रको तनाव अन्त्य गर्ने सहमति

एजेन्सी । भारत र चीन बीच विवादित सीमा क्षेत्रमा जारी तनाव अन्त्य गर्ने सहमति भएको छ ।

भारतीय विदेश मन्त्रालयले भारत–चीन सीमा क्षेत्रहरूमा वास्तविक नियन्त्रण रेखामा गस्ती व्यवस्था गर्न दुई देश बीच सम्झौता भएको जनाएको हो । यो सम्झौताले सन् २०२० मा यी क्षेत्रहरूमा उत्पन्न भएका समस्याहरूको समाधान र पृथकीकरण तर्फ डोर्‍याउने लक्ष्य राखिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको एक दिन अघि यो घोषणा भएको हो । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पनि उपस्थिति हुने अपेक्षा गरिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार २० जना भारतीय र चार जना चिनियाँ सैनिकको मृत्यु भएको सन् २०२० को सीमा झडप पछि दुवै पक्षले दशौँ हजार सैनिक फिर्ता गरेका थिए । वास्तविक नियन्त्रण रेखा भनिने साँघुरो विभाजन पट्टीमा गस्ती नपठाउने सहमति गरेका थिए ।

चीनले भारतको उत्तर–पूर्वी राज्य अरुणाचल प्रदेशलाई तिब्बतको अंश मान्दै आएको छ । दुई देश बीच सन् १९६२ मा सीमा युद्ध भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *