पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा आफूलाई न्यायलयप्रति विश्वास रहेको बताएका हुन् ।
‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछानेले केपी ओली यो देशको प्रधानमन्त्री हुनु देशको दुर्भाग्य रहेको बताएका छन् । यो देशमा भ्रष्टाचारको जगमा ओली उभिएको उनको भनाइ छ । जिल्ला अदालत जाने क्रममा पत्रकारसँग बोल्दै उनले न्यायको पक्षमा सारा जनता सडकमा ओर्लिन पनि आह्वान गरेका छन् । सहकारी ठगीको मुद्दामा उनी यतिबेला कास्की प्रहरीको हिरासतमा रहेका छन् ।




