जलश्रोत/उर्जा

बाढीले रेलेखोला जलविद्युत् आयोजनाको इन्टेक पुर्‍यो, बाँधमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्‍याएको छ।

ह्युम कन्सल्ट प्रालि पवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा बाढी पसेर क्षति पुगेको हो। आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले मङ्गलबार रातिदेखि रेलेखोलामा आएको बाढीले इन्टेक पुरिँदा भौतिक संरचनामा क्षति पुगेको बताए।

दुई वर्षअघि निर्माण सुरु भएको उक्त आयोजनाले आगामी असारभित्र परीक्षण उत्पादन गर्ने तयारी गरेको थियो। करिब ९० प्रतिशत भौतिक प्रगति भएको आयोजनामा बाढीले पु¥याएको क्षतिका कारण परीक्षण उत्पादन सुरु गर्ने समयतालिका प्रभावित बनेको आयोजनाका इञ्जिनियर आयुष भट्टराईले जानकारी दिए।

उनका अनुसार बाँध, पाइपलाइन, विद्युत्गृह निर्माण सकिएको छ भने आयोजनाको उपकरण जडान र प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ।

सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले खोपारा लेकको फेदीमा पर्ने कालोखोलामा बाँध बनाएको थियो। बाँध नजिकै ५०÷५० मिटर लामा दुईवटा पानी थिग्राउने पोखरी (डिसेण्डर) निर्माण भएका छन्।

बाँधबाट विद्युत्गृहसम्म तीन हजार छ सय मिटर लामो पाइपलाइन जडान सकिएको इञ्जिनियर भट्टराईले बताए। उनका अनुसार विद्युत्गृहबाट दाना सबस्टेशन जोड्ने ३३ केभी क्षमताको पाँच किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ।

सुरुङ र नहरको विकल्पमा पाइपलाइबाट पानी ल्याएर पाँच सय पाँच मिटर माथिबाट विद्युत्गृहमा खसालिने योजना रहेको आयोजना कार्यालयले जनाएको छ।

आयोजनाले नारच्याङको बेंसीगाउँबाट लेकगाउँ हुँदै बाँध र रेलेखर्कस्थित विद्युत्गृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाइएको अन्नपूर्ण–४ का कार्यवाहक वडाध्यक्ष श्याम पुर्जाले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *