विश्व

युक्रेनको खार्किभ क्षेत्रमा ११ हजार मानिस विस्थापित

युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा रूसी सेनाले मे १० मा जमिनी आक्रमण गरेपछि करिब ११ हजार मानिस आफ्नो घर छोड्न बाध्य भएको युक्रेनी गभर्नरले बिहीबार बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणले रूसलाई १८ महिनामा सबैभन्दा ठूलो क्षेत्रीय लाभ भएको बताउँदै धेरै लहरमध्ये यो पहिलो हुनसक्ने बताउनुभयो ।

खार्किभका गभर्नर ओलेग सिनेगुबोभले टेलिग्राममा एक पोस्टमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार आक्रमणपछि १० हजार ९८० जनालाई उक्त स्थानबाट बाहिर निकालिएको छ ।

रूसी सेनाहरू लिप्ट्सी र भोभ्चान्स्क सहरलगायत सीमावर्ती गाउँतर्फ अघि बढेपछि हजारौँ मानिसहरू आफ्नो घर छोडेर भाग्न बाध्य भएका थिए ।

सीमाबाट केवल पाँच किलोमिटर टाढा भोभचान्स्क क्षेत्रमा ‘लडाइँ जारी रहेको बताउदै जनरल स्टाफले आफ्ना रक्षकहरूले सफलरूपमा प्रतिरोध गरिरहेको जनाउनुभएको छ ।

युद्ध अध्ययन संस्थानको तथ्याङ्क अनुसार मस्कोले मे ९ देखि १५ बीचमा आक्रमणबाट युक्रेनी क्षेत्रको २७८ वर्ग किलोमिटर जमिन कब्जा गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *