काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्ग निर्माण कार्य तिव्रताका साथ अगाडी बढाउन मध्यपहाडी लोकमार्गका प्रमुख ई.नरेन्द्र भट्टलाई आग्रह गरेका छन् । केही दिन अघि अध्यक्ष भट्टराईले मध्यपहाडी लोकमार्गका प्रमूख भट्टलाई भेटेर यस्तो आग्रह गरेका हुन् ।
मध्यपहाडी लोकमार्ग (नुवाकोट–धादिङ–गोरखा–लमजुङ खण्ड) का प्रमुख ई.नरेन्द्र भट्टसँगको भेटमा डा.भट्टराईले गोरखामा लोकमार्ग निर्माणमा भइरहेको ढिलाइबारे प्रमूखको ध्यानाकर्षण गराउँदै मध्यपहाडी लोकमार्ग गोरखा खण्डको आरूघाट–ओखले, ओखले–निबेल र मसानेठाँटी–ठाँटीपोखरी खण्डमा भइरहेको ढिलाइबारे गम्भीर छलफल भएको बताए। भट्टराईले ती सडकखण्डमा भइरहेको अस्वाभाविक ढिलाइ अन्त्य गरेर छिटो सम्पन्न गर्न आग्रह गरेका थिए ।।
छलफलमा गण्डकी प्रदेशसभा सांसद तथा नेसपा नेता फणीन्द्र देवकोटा समेत सहभागि रहेको उनको भनाइ छ । डा.भट्टराईले आफू प्रधानमन्त्री हुँदा गौरवको आयोजनाको रूपमा मध्यपहाडी लोकमार्ग घोषणा गरेका थिए। समयमा नै मध्यपहाडी लोकमार्गको निर्माण कार्यसम्पन्न नहुँदा विभिन्न क्षेत्रमा विकास हुन सकेको छैन् । मध्यपहाडी लोकमार्गलाई विकासको मुटुका रुपमा मानिएको छ । विकासको आधार समयमा नै खडा गरेर अविकसित ठाउँलाई विकासमा बदलन मध्यपहाडी लोकमार्गको विकास समयमा नै पुरा गर्नुपर्छ ।