देश

समयमा काम नसक्ने २२ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई सरकारले राख्यो कालोसूचीमा

काठमाडौं । समयमा काम नसक्ने २२ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई सरकारले कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले माघ १४ को निर्णयअनुसार विभिन्न निकायका सिफारिसमा एकैपटक २२ निर्माण व्यवसायी कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।

सडक डिभिजन कार्यालय दमौलीले सिफारिस गरेअनुसार आठ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । ललितपुरको देवीरमण कन्स्ट्रक्सन कम्पनी, बन्दीपुरको खड्गदेवी कन्स्ट्रक्सन, बन्दीपुरकै खड्गदेवी कन्स्ट्रक्सन, भिमादको आयुष एन्ड अनुष कन्स्ट्रक्सन, गोरखाको अनुपमा निर्माण सेवा, गोरखाकै अन्नपूर्ण निर्माण सेवा र लक्ष्मी कन्स्ट्रक्सन र कास्कीको त्रिवेणी निर्माण सेवा सडक डिभिजन कार्यालय दमौलीले पठाएअनुसार कार्यालयले ती कम्पनीहरुलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

अन्य जिल्लाका विभिन्न निकायहरूले पठाएअनुसार विभिन्न निर्माण कम्पनीहरूलाई साढे एक वर्षदेखि तीन वर्षदेखि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

चारवटा कम्पनीलाई तीन वर्ष, एउटा कम्पनीलाई साढे दुई वर्ष, चारवटा कम्पनीलाई दुई वर्ष, पाँचवटा कम्पनीलाई डेढ वर्ष र बाँकी आठवटा कम्पनीलाई एक वर्ष कालोसूचीमा राखिएको छ । ‘कालोसूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन सक्ने छैनन्,’ सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *