काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८१ को भर्ना सूचना जारी नगर्न निजी तथा सरकारी (सामुदायिक) विद्यालयलाई निर्देशन दिएको छ।
महानगरपालिकाले महानगर क्षेत्रभित्रका केही विद्यालयले अनलाइन तथा अन्य विभिन्न माध्यमबाट नयाँ शैक्षिक सत्रको सूचना जारी गरेको भन्ने उजुरी परेको जनाएको छ।
महानगरपालिकाको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले तत्काल यस्ता सूचना जारी नगर्न सबै विद्यालयलाई सूचना जारी गर्दै निर्देशन दिएका छन्।
‘महानगरपालिका क्षेत्रभित्रका केही विद्यालयले अनलाइन तथा अन्य विभिन्न माध्यमबाट शैक्षिक सत्र २०८१ का लागि भर्नाको सूचना प्रकाशन गरेको भन्ने उजुरीप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा उल्लेख छ।
महानगरपालिकाले शैक्षिक सत्रको शुरुवातको समय नभइ विद्यार्थी भर्नाका लागि कुनै पनि तरिकाले सूचना प्रकाशन नगर्न नगराउन सूचित गर्दै त्यस प्रकारको सूचना प्रकाशन गरेको पाइएमा महानगरपालिकाको शिक्षा ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाएको छ।





