काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले खोप कार्यक्रममा मन्त्रालयले अपेक्षित सफलता पाउन नसकेको भन्दै चर्को असंतुष्टि व्यक्त गरेका छन् ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले मंगलवार राजधानीमा आयोजना गरेको राष्ट्रिय दादुरा–रुवेला खोप अभियान २०८०–०८१ को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै बस्नेतले कर्मचारीको कार्यशैलीप्रति असंतुष्टि पोख्दै क्षमताअनुसार काम नभएको बताएका हुन् ।

सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्य लिएको भए पनि यही गतिमा काम गर्ने हो भने त्यो संभव नभएकोले स्वास्थ्यका हरेक कर्मचारीले आफ्नो काम गर्ने शैली परिवर्तन गर्नु आवश्यक रहेको मन्त्री बस्नेतले बताए ।
देशभरिका ७२ वटा जिल्ला पूर्ण खोप जिल्लाका रुपमा घोषणा गरिसकिएको भए पनि देशभरि पूर्ण खोप लिएका बालबालिकाको संख्या किन ५२ प्रतिशत मात्र भन्ने प्रश्न गर्दै उनले भने, ‘एकातिर पाँच जिल्लाबाहेक देशका ७२ जिल्ला पूर्ण खोप जिल्ला घोषणा गरिसकेका छौं भन्दै हुनुहुन्छ । अर्कोतिर देशभरि ५२ प्रतिशत बालबालिकाले मात्र पूर्ण खोप लिएका छन् भन्दै हुनुहुन्छ । यो कस्तो तथ्यांक हो ? ’
अहिलेकै कार्यशैलीमा काम गर्ने हो भने सन् २०२६ सम्म पनि दादुरा–रुवेला निवारण हुनेमा आफू विश्वस्त हुन नसकेको मन्त्री बस्नेतले बताए । सन् २०२३ मै निवारण गरिसक्ने लक्ष्य लिएको भए पनि कर्मचारीकै ढिलासुस्ती र गैरजिम्मेवारीपनका कारण अर्को मिति तोक्नुपर्ने अवस्था आउन उनले बताए ।

‘जागिर मात्र खाने मानसिकताले काम गर्दा तोकिएको लक्ष्य पूरा गर्न सकिँदैन । आफूमा भएको क्षमता प्रदर्शन गर्न सक्नुपर्छ,’ बस्नेतले भने, ‘स्वास्थ्यका अधिकारीको काम महिनामा दुई दुई पटक विदेश जाने र आईएनजिओको काम गर्ने मात्र होइन । सरकारी सेवामा प्रवेश गरेपछि जनताको पक्षमा काम गर्नु पर्छ ।’
स्वास्थ्यका कर्मचारीको अहिलेको काम गर्ने तौरतरिका परिवर्तन नभए स्वास्थ्यमा अपेक्षाकृत नतिजा हासिल गर्न कठिन हुने बताउँदै मन्त्री बस्नेतले सरकारले दिएको जिम्मेवारी गहन ढंगले बहन गर्न सबै कर्मचारीलाई निर्देशन दिए ।
आईएनजीओले आयोजना गर्ने कार्यक्रममा मन्त्रालय मातहतका विभाग र महासाखाका ठूलो संख्यामा कर्मचारी पुग्ने गरेकोमा पनि मन्त्री बस्नेतले असन्तोष व्यक्त गरे । उनले भने, ‘मन्त्रालय, विभाग, महासाखा नै रित्तो बनाएर आईएनजीओको कार्यक्रममा हिँड्नु भएन । जनताको सेवा दिने कार्यालय सुनसान हुनु भएन ।’
अर्थ मन्त्रालयले वीर अस्पतालको नियमित बजेट शीर्षकमा बजेट नराखिदिएको दोषसमेत स्वास्थ्यमन्त्रीलाई दिइराखेकोमा रोष प्रकट गर्दै मन्त्री बस्नेतले काम राम्रो गर्दै गएपछि कसैको पनि डराउनुपर्ने अवस्था नरहेको दावी गरे ।
१०० शैयादेखि ३०० शैयासम्मका अस्पतालमा नर्स र प्यारामेडिक्सको पढाई हुनेगरी काम अगाडि बढी सकेको र निकट भविश्यमै ३०० शैयाका अस्पतालमा एमविविएससम्मको अध्ययन गर्ने व्यवस्था गर्ने योजनाका साथ आफू अगाडि बढेको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छाले खोप कार्यक्रममा सधै अभियान चलाईराख्नु भन्दा दीर्घकालीन समाधान खोज्नु पर्ने आवश्यकता रहेको बताए । सन् २०१६ मा पुर्ण खोप दर १ प्रतिसतमा रहेकोमा अहिले त्यो बढेर ४ प्रतिसतमा पुग्नु चिन्ताको बिषयमा भएको बताउदै खोप खेर जाने प्रतिसतलाई पनि घटाउदै लैजानु पर्ने आवश्यकतामाथि जोड दिए ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले देशभरि ५२ प्रतिसतले मात्र खोप पाएको तथ्यांकलाई सुधार गर्दै ९५ प्रतिशतभन्दा बढी बालबालिकाले खोप पाएको तथ्यांक सार्वजनिक गर्न सबैको सहकार्य आवश्यक रहेको बताए ।




