चितवन । जीन्दगीको ५० वसन्त पार गर्दासम्म रत्ननगर–११ जिरौना चितवनका दीपबहादुर थापामगरलाई तरकारी खेती गरेर आम्दानी गर्न सकिन्छ भन्नेमा ध्यान गएको थिएन । आफ्नो ऊर्जाशील समय परम्परागत शैलीमा खेती गर्दै जीवन निर्वाह गरेका मगरले आम्दानी गर्नका लागि धेरै काम गरे पनि यसअघि सन्तुष्टी नमिलेको बताए ।
विसं २०३६ मा धादिङबाट चितवन झरेको मगरको परिवार यहाँ आएर धान र मकैखेती थालेका थिए । परम्परागत खेतीबाट वर्षभरि खान र जसोतसो घरखर्च मात्र चल्ने गरेको मगरको भनाइ थियो । ‘छोराछोरी बढ्दै जान थालेपछि खर्च पनि बढ्न थाल्यो । परम्परागत खेतीबाट जीविकोपार्जन गर्न नसकिने लागेपछि घर वरपरका मानिसले व्यावसायिक तरकारी खेती गरेको देखेर आफू पनि यसप्रति आकर्षित भएको थिएँ’, उनले भने ।
विगत पाँच वर्षयता मगरले दुई बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । आफ्नो १० कठ्ठा र भाडाको डेढ बिघा जमिनमा उनले तरकारी खेती गरेका छन् । उनले भने, ‘दुई बिघा क्षेत्रफलमा टमाटर सिमी, काँक्रो, करेला र लौकाको खेती गर्दै आएको छु । गाउँका अरु दाजुभाइ र तराईका जिल्लाबाट पनि यहाँ आएर भाडामा तरकारीखेती गरेको देखेर मैले पनि सुरु गरेको हो ।’
व्यावसायिक रूपमा तरकारी खेती गर्नका लागि कुनै तालिम नलिएको मगरको भनाइ छ । ‘भाटा बाँध्न, जाल बुन्न, डोरी बाँध्न, सिँचाइ गर्न, दबाई हाल्न, ड्याङ बनाउन अरुको हेरेर मैलै सिकेको हो । मैलै कुनै तालिम लिएको छैन आफैले हेरेर सिकेको हो’, उनले भने । भाडाको जग्गामा उनले वार्षिक प्रतिकठ्ठा रू चारु हजार तिर्छन् । पाँच वर्षको अवधिमा उनले कुनै समय निकै राम्रो आम्दानी गरे भने कुनै समय बराबरमा चित्त बुझाउनुपरेको बताए । उनले थपे, ‘परार सालमा राम्रो भाथ्यो लगभग डेढ बिघामा लगाएको तरकारीले १७ लाख आम्दानी भएको थियो ।’
यस वर्ष मगरले सिमी र टमाटरमा रू छ लाख लगानी गरेको बताए । भने जस्तो भाउ पाएमा छ लाखको लगानीबाट १५ लाखनभन्दा बढी आम्दानी गर्न सकिने उनले जानकारी दिए । भाउमा एकरुपता नुहँदा आम्दानी निश्चित नुहने उनले गुनासो गरे । ‘तरकारीको भाउ निश्चित हुँदैन, दर घट्ने बढ्ने भइरहन्छ । कहिले ह्वात्तै घट्छ, कहिले बढ्छ । परार सालमा राम्रो भाउ परेको थियो र त्यही आम्दानीले घर बनाएँ ।’
तरकारी खेतीको आम्दानीले घर बनाउनेदेखि छोराछोरीको विवाह गर्ने र विदेश पठाउने काम गरेको मगरले बताए । ‘छोरा र छोरीको बिहे भयो । छोरा, बुहारी र ज्वाइँ विदेशमा छन् । छोरी पनि उतै जाने प्रक्रियामा छन्’, उनले भने, ‘छोरालाई यही केही गरौँ भनेको मानेन बाहिर गयो । हामी बूढाबूढी यही कुटो–कोदालो गरेर बसेका छौँ ।’ तरकारी खेती गरेर सन्तुष्ट भइरहँदा छोराछोरीलाई यही रोक्न नसकेकामा मगरलाई त्यति खुसी मिलेको छैन ।
उनलाई तरकारी खेती गर्न कामदारको अभाव छैन । नियमित जस्तै पाँच–छ जनालाई उनले रोजगारी दिएका छन् । निकै मेहनत गरेर उब्जाएको तरकारी बिक्री गर्ने बेलामा भाउ घट्दा मन खिन्न हुने मगरको भनाइ थियो । उनले भने, ‘राम्रो उत्पादन हुन्छ, दुःख गरेर उब्जाएको तरकारीको मूल्य नपाएर फाल्नुपर्दा साह्रै नमज्जा लाग्छ ।’ एक बिघा क्षेत्रफलमा टमाटरखेती गर्दा रू आठ लाख जति लगानी हुने र खर्च कटाएर रू १० लाखभन्दा बढी आम्दानी गर्न सकिने कृषक मगरले जानकारी दिए । क्रेटको रू पाँच सय मात्रै भाउ भएमा टमाटरमा घाटा नपर्ने उनको भनाइ थियो ।




