काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले सानै उमेरमा हुने विवाह रोक्न विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् । विवाह गर्न पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने उनको भनाइ छ ।
बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा उनले विवाह गर्न लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरु आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने दाबी गरिन् ।
यसका लागि वडा तहदेखि कानूनी रुपमा नीति बनाउन आवश्यक रहेको उनको भनाइ छ। विवाह अगाडि सबै प्रक्रिया पु¥याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको उनले बताइन्।
देउवाले अन्तर्राष्ट्रिय धेरै देशहरुमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि बताइन्। उनले बालविवाह, महिला हिंसा, बलात्कार जस्ता विकृतिहरु रोक्न कानून नै एकमात्र विकल्प हुनसक्ने धारणा राखिन् ।




