मुख्य समाचार

गाजा र पश्चिम किनारका लागि एकल प्यालेस्टिनी सरकारका लागि ‘खुला’ रहेको हमास प्रमुखको भनाइ

गाजापट्टी। हमास प्रमुख इस्माइल हानियेहले गाजामा शासन गर्नका लागि एकल प्यालेस्टिनी प्रशासनका लागि आफू तयार रहेको बताएका छन् । गाजामा हमासको शासन छ र पश्चिम किनार उसको कब्जामा छ ।

‘हामी आन्तरिक (प्यालेस्टिनी) अवस्थाका सम्बन्धमा धेरै पहल प्राप्त गरेका छौँ र हामी पश्चिम किनार र गाजाका लागि एउटा राष्ट्रिय सरकारको विचारका लागि खुला छौँ,’ उनले मंगलबार टेलिभिजन सम्बोधनमा भने ।

सन् २००६ को प्यालेस्टिनी निर्वाचनमा विजयी भएपछि हमासले गाजापट्टीलाई नियन्त्रण लिएको थियो । त्यसअघि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको फतह पार्टीसँग हिंसात्मक झडपहरू भएका थिए । गुटहरूबीच मेलमिलापका धेरै प्रयास विफल भएका छन् । पश्चिम किनारमा प्यालेस्टिनी प्राधिकरणका प्रमुखका रूपमा अब्बासको लोकप्रियता घटेको छ ।

हमास र इजराइलबीच करिब तीन महिनाको युद्धका क्रममा गाजाको भावी शासनबारे लगातार प्रश्न गरिएको छ । इजराइलले हमासलाई सखाप पार्ने वाचा गरेको छ ।

अमेरिकाले युद्धपछि प्यालेस्टिनीहरू कुनै पनि प्रशासनको हिस्सा हुनुपर्नेमा जोड दिएको छ । तर, अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त प्यालेस्टिनी प्राधिकरणको भविष्यको भूमिका अस्पष्ट छ ।

अल जजिराले प्रसारण गरेको हानियेहको सम्बोधनमा उनले युद्धमा दोस्रो सम्भावित विरामका बारेमा पनि चर्चा गरे । यसअघिको युद्धविरामले अक्टोबर ७ मा हमासले इजराइलबाट अपहरण गरेका दुई सय ५० बन्धकमध्ये करिब आधालाई रिहा गर्न मार्ग प्रशस्त गरेको थियो ।

धेरै विवरण नदिई हानियेहले भने, ‘शत्रुका बन्दीहरूलाई प्रतिरोधले निर्धारित सर्तका आधारमा मात्र रिहा गरिनेछ ।’ गाजामा करिब एक सय २९ बन्धक अझै पनि बन्दी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *