विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्रीहरुको रिपोर्ट कार्ड खोज्नुको सट्टा प्रधानमन्त्रीले आफ्नो एकबर्षे रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्ने बताएका छन् । बुधबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले एक बर्षमा आफुले गरेका कामको प्रधानमन्त्रीले रिपोर्ट सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।
नेता कोइरालाले जनतालाई आशा जगाउन वर्तमान सरकार र नेतृत्व परिवर्तन अपरिहार्य रहेको समेत बताए । उनले सरकार संचालनमा प्रधानमन्त्रीको असफलतका कारण जनतामा वितृष्णा बढेकाले नेपाली कांग्रेसको नेतृत्वमा मात्र जनतामा आशा जगाउन सक्ने दावी गरे ।
नेता कोइरालाले एनसेल प्रकरणले राजनैतिक दलका नेताहरु, कर्मचारी र व्यापारीहरुको नेक्सस र्सार्वजनिक गरेको बताए । नेपालमा भइरहेका ठुलाठुला भ्रष्टाचारमा नेता, कर्मचारी र व्यापारीको मिलोमतो हुने गरेको उनको भनाइ थियो ।




