विश्व

हमासविरुद्धको लडाईँमा विश्वव्यापी समर्थन गुमे पनि कारबाही नरोक्ने नेतन्याहुको चेतावनी

काठमाडौं। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासविरुद्धको लडाईँ कसैले रोक्न नसक्ने बताएका छन्।

सामाजिक सञ्जाल एक्समा एक भिडियो सेयर गर्दै प्रधानमन्त्री नेतन्याहूले विश्वको कुनै दबाबले पनि हमासविरुद्धको लडाईँ नरोकिने बताए। उनले सैन्य कमाण्डरहरुलाई हमासलाई समाप्त नगरेसम्म कारबाही नरोक्न आदेश दिइसकेको भन्दै आफूहरुलाई कसैले रोक्न नसक्ने जिकिर गरे।

यसअघि संयुक्त राष्ट्र संघको महासभामा गाजामा जारी युद्ध रोक्न आग्रह गर्ने र दबाब दिने प्रस्ताव पारित भएको थियो। यसबारे प्रतिक्रिया दिँदै इजरायली विदेशमन्त्री एली कोहेनले विश्वव्यापी दबाब वा समर्थन जुनै परिस्थितिमा पनि युद्ध नरोकिने बताएका थिए। प्रधानमन्त्री नेतन्याहूले यदि युद्ध रोकिएमा हमास पुनः उठ्ने र इजरायलका लागि सुरक्षा खतरा बढ्ने बताए।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा इजरायलले गरेको अन्धाधुन्ध बम प्रहारले विश्वव्यापी समर्थन गुमाइरहेको टिप्पणी गरेको भोलिपल्ट इजरायलको यस्तो प्रतिक्रिया आएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *