मुख्य समाचार

उत्तराखण्डमा सुरुङमा फसेका ४१ कामदारको १६ दिनपछि सकुशल उद्धार

नयाँ दिल्ली । भारतको उत्तराखण्डमा सुरुङभित्र फसेका ४१ कामदारलाई १६ दिनपछि सकुशल उद्धार गरिएको छ ।

बारम्बार असफलतापछि उनीहरूलाई बाहिर निकाल्नका लागि तीन दिशाबाट नयाँ सुरुङ खनेपछि अब उनीहरुलाई मंगलबार राति सकुशल बाहिर निकालिएको हो । उनीहरुलाई निकाल्न करिब ५८ मिटरको सुरुङ खनिएको थियो ।

रिपोर्टका अनुसार सुरुङमा फसेका सबै मजदुरको स्वास्थ्य अवस्था ठिक रहेको छ ।

विश्वकै ध्यान खिचेको यस घटनामा सबै मजदुरको सफल उद्धारपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिंह धामीलाई बधाई दिदै उद्धार गरिएका मजदुरको स्वास्थ्यमा ध्यान दिन आग्रह गरेका छन् ।

पछिल्लो १६ दिनमा सुरुङमा फसेका मजदुरलाई टेलिफोन सेवा उपलब्ध गराइएको र उनीहरुले परिवारका सदस्यहरुसँग लगातार कुराकानी गरिरहेको उत्तराखण्ड राज्यका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

गत मङ्गलबार सुरुङभित्र फसेका कामदारहरूलाई पहिलो पटक जीवित देखिएको थियो । उद्धारकर्मीहरूले एउटा पातलो पाइपबको माध्यमबाट पठाइएको एन्डोस्कोपिक क्यामेराको लेन्सलाई उनीहरूले हेरिरहेको देखिएको थियो । सोही पाइपमार्फत उनीहरूलाई हावा, खाना, पानी र बिजुली पुर्याइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *