काठमाडौं । सरकारी वकिलले विद्युतीय चुरोट (भेप)मार्फत् भएको ९ किलो सुन तस्करी प्रकरणमा चार जनाविरूद्ध मुद्दा दायर गरेको छ । सरकारी वकिलको कार्यालयले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा तीन वटा कसुरमा मुद्दा दर्ता गरेको हो ।
महरासहित सर्लाही घर भई काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ४ सितापाइला बस्ने ३९ वर्षीय लोकेन्द्रकुमार पौडेल, बेल्जियमका नागरिक ३९ वर्षीय दावा छिरिङ र काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धका ५७ वर्षीय निमा गुरूङविरूद्ध मुद्दा दायर भएको हो । ती जना प्रहरी हिरासतमा छन् भने निमा फरार छन् ।
उनीहरुविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको सरकारी वकिलले जनाएको छ । लोकेन्द्रकुमार सुन तस्करी प्रकरणमा प्रमुख व्यक्ति दाओजिन वाङका सवारी चालक हुन् । दावा ब्रेक शुमार्फत ६० किलो ७१६ ग्राम सुन तस्करी गरेको प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि थुनामा छन् ।
गत पुस १० गते फ्लाइ दुबईबाट आएका चिनियाँ नागरिक ली हाङसनले ल्याएको ७३ वटा बट्टामा रहेको ७३० वटा भेपभित्र ९ किलो सुन थियो ।




