काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले प्रत्येक प्रदेशमा एक रोग विशेषको विशेषज्ञ सेवा दिनेबारे सोचेको बताएका छन् ।
शुक्रवार मन्त्रालयमा आयोजित तिलगंगा आँखा हस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बीचमा आँखाको उपचारको सम्बन्धमा आपसी सहयोग आदान–प्रदानका विषयमा सहमति गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सबै प्रदेशले एउटा, एउटा विशेषज्ञ सेवा दिनुपर्ने बताए । उनले सरकारले मधेस प्रदेशको विरगञ्जलाई मिर्गौला प्रत्यारोपण केन्द्रको रुपमा विकसित गर्न खोजेको बताए । त्यसैगरी जनकपुरमा मुटु रोगको विशेषज्ञ सेवा दिने गरि काम अगाडी बढिहेको बताए ।
उनले कर्णाली प्रदेशमा आँखाको विशेषज्ञ सेवा दिनेगरी कामहरु अगाडी बढेको र त्यसैको पाइलास्वरुप दुई अस्पतालका बीचमा सहमति आदान प्रदान भएको उल्लेख गरे । उनले यसै अनुरुप अन्य प्रदेशहरुमा पनि खास, खास रोगको विशेषज्ञ सेवा दिनेगरी अगाडी बढ्नुपर्नेमा जोड दिए । मन्त्री बस्नेतले आँखा सम्बन्धी समस्याको उपचार संघीय राजधानि, प्रदेश राजधानि र केही विकसित शहरहरुमा बाहेक अन्त कमजोर देखिएको भन्दै सो अवस्थालाई सुधार गर्नुपर्ने बताए ।
उनले भने – ‘सबै प्रदेशहरुमा एउटा न एउटा विशेषज्ञ सेवा दिने कुरामा । जस्तै अहिले मधेश प्रदेशमा वीरगञ्जलाई किड्नी ट्रान्सप्लान्ट केन्द्रको रुपमा हामीले विकसित गर्न खोजेका छौँ । यो विषयमा मेरो भारत भ्रमणको शिलशिलामा त्यहाँको स्वास्थ्यमन्त्रीसँग पनि मैले यो प्रश्ताव राखेँ । केही शुरुवात त हामी अहिल्यै गर्नसक्छौँ । तर यसलाई वेल इक्युड बनाउनका लागि, स्वास्थ्य सेवा दिनका लागि त्यहाँ पनि मैले प्रश्ताव राखेर आएको छु ।
जनकपुरलाई मुटु रोगको विशेषज्ञता सेवा दिने केन्द्रको रुपमा, सेवा शुरु भएको छ तर मुस्किलले काम चलिरहेको छ । त्यस्तो अरु प्रदेशमा पनि होस् र कर्णाली प्रदेशले आँखाको सेवा दिने विषयमा त अब तिलगंगा आफैँ मिलेर लाग्ने भएपछि त्यहाँ पाउँछ भन्ने कुरामा दुविधा रहेन अरु प्रदेशमा पनि हामीले हेर्नुपर्ने अवस्था छ । ७७ जिल्लामा आँखा उपचारको कुरा हेर्दा संघीय राजधानि, प्रदेशका राजधानि र केही विकसित शहरहरुमा बाहेक कमजोर देखिएको छ । यो सेवालाई प्रभावकारी ढंगले अगाडी बढाउनुपर्ने छ । जुन कुरा म मन्त्रालयमा आएपछि शुरुदेखि नै छलफलमा जुटिरहेकै हुँ ।’
उनले शुक्रबार भएको सहमति अनुरुप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘फोकल पोइन्ट’ बनाएर तिलगंगा आँखा अस्पतालले आफ्ना सम्पूर्ण शक्तिहरुलाई परिचालन गरी कर्णाली प्रदेशका दुर्गम गाउँ, बस्तीहरुमा गएर आँखा सम्बन्धी स्वास्थ्य सेवा दिने बताए । अस्पतालहरुलाई पर्ने समस्याहरु समाधानका लागि मन्त्रालय सधै तत्पर रहेको बताए ।




