मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

साउन ११ गते बिहिबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरि घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।

हेर्नुहोस संकल्प खबरका १० मुख्य समाचारः

ढल्यो कोशी सरकार, सर्वोच्चले के भन्यो ?

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले कोशी प्रदेश सरकार ढलेको छ । सरकार गठनका लागि सभामुखले हस्ताक्षर गर्न नपाउने सर्वोच्चले ठहर गरेको हो ।

सर्वोच्चको आदेशसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर भएको छ ।

न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्णइजलासले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने सबै निर्णय बदर गर्दै एक साताभित्र नयाँ सरकार गठनका लागि आदेश दिएको छ ।

अर्थात अब फेरि संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको प्रयास हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन सक्ने दलले सरकार बनाउने छ । थापाको नियुक्ति जुन प्रक्रियाबाट थालिएको थियो सोही प्रक्रियाबमोजिम २ वा दुई भन्दा बढी दलको बहुमत प्राप्त गर्ने व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्न भने अदालतले बाटो खोलेको छ ।

मोर्चाको कार्यविधि पारित

समाजवादी मोर्चाले चार सदस्यीय सचिवालय गठन गर्ने व्यवस्थासहितको कार्यविधि पारित गरेको छ । मोर्चामा आवद्ध दलसँगको समन्वयमा काम कारबाही तथा गतिविधिलाई व्यवस्थित बनाउन पारित गरिएको कार्यविधिमा सचिवालय तथा सचिवालयको काम, कर्तव्य र अधिकारबारे छ बुँदे व्यवस्था गरिएको छ ।

मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालनका लागि एक सचिवालय गठनको व्यवस्था गरिएको छ । सचिवालयमा मोर्चा घटक दलबाट १र१ जना प्रतिनिधि रहने र सचिवालयले केन्द्रीय संयोजन समितिको निर्णय कार्यान्वयनका लागि कार्ययोजना बनाउने छ”, कार्यविधिमा उल्लेख गरिएको छ ।

कार्यविधिमा संयोजन समितिका सम्पूर्ण बैठक र निर्णयको सचिवालयले व्यवस्थित रूपमा अभिलेख राख्नुका साथै जुन दलले मोर्चाको अध्यक्षता गर्छ सोही दलको प्रतिनिधित्व गर्ने मोर्चाको सचिवालय सदस्य मोर्चाको सदस्य सचिव हुने व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्कँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातदिने इटाली भ्रमण सम्पन्न गरी भोलि बिहान स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका थिए । सो क्रममा प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई पनि सम्बोधन गर्नुभएको थियो । सो अवसरमा उनले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको बताएका थिए ।

रोममा रहँदा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको थियो ।

गगन थापाले बुझाए निर्वाचन आयोगमा १५ हजार जरिवाना

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं –४ का प्रतिनिधिसभा सदस्य गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत आफूले १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराउँदै फेरि निर्वाचन खर्च सार्वजनिक समेत गरेको बताएका छन् । निर्वाचन आयोगले चुनाव खर्च विवरण बुझाएर सार्वजनिक नगरेको भन्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारलाई १५ हजार जरिवाना तोकेको थियो ।

थापाले यसअघि आफूले सार्वजनिक गरेको खर्चको विवरण निर्वाचन आयोगलाई फेरि बुझाउनुपर्छ भन्ने जानकारी नहुँदा जरिवानामा परेको बताएका छन् । मैले निर्वाचन आयोगमा मिति २०७९.०८.२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।


नेपाललाई पेयरा बन्दरगाह प्रयोग गर्न बंगलादेशको प्रस्ताव

नेपाललाई बंगलादेशले पेयरा बन्दरगाह प्रयोग गर्न प्रस्ताव गरेको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनको साइडलाइट बार्तामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसंग यस्तो प्रस्ताव राखेकी हुन् । बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनले भने, ‘बंगलादेशले नेपालका लागि चल्ना र चातोग्राम बन्दरगाह यसअघि नै खुला गरिसकेको र हाल हालै निर्माण सम्पन्न पेयरा बन्दरगाह पनि नेपालले प्रयोग गर्न सक्ने बताएको हो ।

मोमेनका अनुसार प्रधानमन्त्री हसिनाले बंगलादेशले क्षेत्रीय कनेक्टिभिटी बढाउन सयैदपुर विमानस्थललाई विकास गरिरहेको समेत उल्लेख गरिन् । छलफलका क्रममा प्रधानमन्त्री दाहालले हसिनाको नेतृत्वमा बंगालदेशले हासिल गरिरहेको विकासको प्रशंसा गरे । नेपालमा जलविद्युत उत्पादनको ठुलो सम्भावना बताए । प्रधानमन्त्री हसिनाले नेपालबाट ४० मेगावाट जलविद्युत आयात गर्न भारतसहित भएको त्रिपक्षीय सम्झौता पछि अब थप विद्युत् आयात गर्न कदम अगाडि बढाउने आश्वासन दिएकी थिइन् ।

एमालेले तोक्यो प्रदेश कमिटीको अधिवेशन मिति

नेकपा (एमाले)ले प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ । गण्डकीबाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार सम्बद्ध प्रदेश कमिटीको बैठकले आआफ्ना प्रदेशको अधिवेशन तोकेका हुन् । कोशी प्रदेशको आगामी असोज १२ र १३ गते विराटनगरमा, मधेस प्रदेशको असोज ५ र ६ गते जनकपुरमा, बागमतीको असोज ८ र ९ गते काठमाडौंमा अधिवेशन हुने गौतमले बताए । उनका अनुसार लुम्बिनीको भदौ १६ र १७ गते बुटवलमा, कर्णालीको भदौ २९ र ३० गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको भदौ २२ र २३ गते धनगढीमा अधिवेशन तोकिएको छ । उनले गण्डकी प्रदेशले यही साउन २२ गते बस्ने बैठकले अधिवेशन तोक्ने बताए ।

पार्टी सदस्यता नवीकरणको काम साउन १५ गतेसम्म अद्यावधिक गरी प्रमाणीकरण गरिसक्ने एमाले पार्टी कार्यालयले जनाएको छ । सदस्यता अद्यावधिक गरिसकेपछि निर्धारित समयमा नै प्रदेश कमिटीका अधिवेशन गर्ने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।


मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पुनः सर्वसम्मतिले पारित

मिटर व्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः स्वसहमतिले पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाले संशोधन सहित पारित गरेको विधेयक टेबल भएको थियो ।

प्रतिनिधि सभाले संसाधनसहित पारित गरी राष्ट्रिय सभामा पठाएको सो विधेयक पुन पारित गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सभामा प्रस्तुत गरेका थिए । त्यसअघि सभाले प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार गरेको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयकमाथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

गाडी भाडा घट्यो

वाग्मती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार भाडा घटाएको जानकारी दिएको हो ।

नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपैयाँले घटेको छ । अब काठमाडौं उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्नेछ । भने १० किलोमिटर यात्रा गर्दा अब २४ रुपैयाँ भाडा लाग्ने छ ।

यसअघि पाँच किलोमिटरसम्मको भाडा १९ रुपैयाँ रहेको थियो । भने १० किलोमिटरसम्मको भाडा २५ रुपैयाँ रहेको थियो । १५ किलोमिटरसम्म यात्रा गर्दा पहिला ३० रुपैयाँ रहेकोमा अहिले २९ रुपैयाँ तोकिएको छ । यस्तै, २० किलोमिटरसम्मको भाडा पहिला ३३ रुपैयाँ रहेकोमा अहिले ३२ रुपैयाँ तय गरिएको छ । २० किलोमिटरभन्दा लामो दूरीको भाडा पहिले ३८ रुपैयाँ रहेकोमा अहिले ३७ रुपैयाँ तोकिएको छ ।

यस्तै, वाग्मती प्रदेश सरकारले उपत्यका बाहिर जाने सवारीसाधनमा गत जेठ ११ गतेदेखि लागु गरेको भाडादरमा २.३० प्रतिशत भाडा कम गरेको छ । यात्रुले यो भाडादरमा १५ किलोग्रामसम्मको सामान निःशुल्क र सोभन्दा बढीको प्रति १० किलोग्रामको पाँच रुपैयाँ दरले भाडा तिर्नुपर्ने गरी भाडादर तोकिएको छ ।

प्रधानमन्त्री प्रचण्डद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गरेका छन् ।

इटाली भ्रमणमा रहेका उनले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले उक्त रङ्गशालाका बारेमा अभिरुचिपूर्वक जिज्ञासा रहेका थिए ।

सो रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । प्रधानमन्त्री दाहालले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रङ्गशाला सञ्चालनका क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गरे थिए ।

उनले रङ्गशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गरेका थिए । प्रधानमन्त्री दाहाललाई रङ्गशालाका अधिकारीहरूले सम्पूर्ण जानकारी गराएका थिए । उक्त रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो ।

सुन तस्करी प्रकरण– चिनियाँ नागरिक बस्ने घर शिल

लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा राजश्व अनुसन्धान विभागले शिल गरेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ साउनमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा विभागले खानतलासी गरेर शिल गरेको हो ।

खानतलासीको क्रममा विभागले केही बाकसहरु बरामद गरेको छ । विभागका एक अधिकारीका अनुसार, त्यहाँ चुवानसहित अन्य चिनियाँ नागरिकहरुको पनि आउजाउ हुने गरेको देखिएको छ । अन्य चिनियाँबारे विभागको टोलीले अनुसन्धान गरिरहेको छ । विभागले सशस्त्र प्रहरीको सहयोगमा यसअघि बालुवाटार र सोह्रखुट्टेमा पनि छापा मारेको थियो ।

राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन बरामद गरेको थियो । त्यसमा संलग्न रहेको आरोपमा हालसम्म १७ जना पक्राउ परेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *