साउन ९ गते मंगलबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरि घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
हेर्नुहोस संकल्प खबरका १० मुख्य समाचारः
निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्नेको संख्या २४३५ जना , जनही १५ हजार जरिवाना बुझाउनुपर्ने
काठमाडौं । गत मंसिर ४ मा सम्पन्न भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको निर्वाचन खर्च सार्वजनिक नगर्ने उमेदवारको संख्या २४३५ रहेको भन्दै निर्वाचन आयोगले मंगलबार सो निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्नेको संख्या सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगले चुनाव खर्चको विवरण सार्वजनिक नगर्ने २४३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ । आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रतिनिधि सभातर्फका १०३७ जना र प्रदेश सभातर्फका १३९८ गरी कुल २४३५ जना उम्मेदवारहरूले निर्वाचनमा लागेको खर्च सार्वजनिक गरेका छैन । खर्च सार्वजनिक नगरेपछि आयोगले जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दा हेर्दा हेर्दैमा
कोशी प्रदेश सरकार गठन विरुद्धको रिटमाथि आज सर्वोच्च अदालतको पूर्ण इजलाशमा भएको सुनुवाई सकिएन ।
उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । आज रिट निवेदक कोशी प्रदेशका निर्वतमान मुख्यमन्त्री हिक्कमतकुमार कार्कीका तर्फबाट अधिवक्ताहरु टीकाराम भट्टराई, भीमार्जुन आचार्य, बद्रीबहादुर कार्कीलगायतले बहस गरेका छन् ।
त्यस्तै, प्रतिवादी मध्ये सरकारका महान्यायाधिवक्ता दिनमणी पोखरेल, सहन्यायाधीवक्तालगायतले बहस गरेका छन् ।सभामुख सहित अन्य प्रतिवादी र मुख्यमन्त्री थापाका तर्फबाट निजी वकिलहरुले भने उक्त मुद्दामाथि बहस गर्न बाँकी छ ।
उक्त मुद्दामाथिको सुनुवाई भोलि बिहान ११ बजेपछि हुने जनाइएको छ मंगलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त मुद्दा सुनुवाई भएको हो ।सोमबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलाशमा पठाउन आदेश गरेको थियो ।
सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन हुन्छ ः कानुनमन्त्री गुरुङ
नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्ने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित बीपी स्मृति सप्ताह कार्यक्रममा उनले सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न छानबिन समिति आयोग गठन गर्नुपर्ने बताए ।
सबै नेताको सम्पत्ति छानबिन गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल भएको भन्दै मन्त्री गुरुङले भने, ‘प्रधानमन्त्रीसँग मन्त्रीको हैसियतले बसेर भनेको छु, अघि बढ्नुस् एउटापछि अर्को फाइल खोल्दै जाने, जोजो पर्छन् पर्छन् कांग्रेस, एमाले, माओवादी कोको पर्छन् मलाई थाहा छैन । तर, एकपछि अर्को गरी फाइल खोल्दै ठोक्दै जाने हो । भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउने नै हो भनेर कुरा भएको छ ।’ उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गरी रुपान्तरणको अभियान सुरु गर्नुपर्ने बताएका उनले सुशासन स्थापना गराउने हो भने उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।
सुनकाण्डपछि विमानस्थलस्थित भन्सार प्रमुखमा टोकराज पाण्डे नियुक्त
एक क्विन्टल सुन बरामद प्रकरणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुख फेरिएको छ । अर्थ मन्त्रालयले भन्सार प्रमुखको जिम्मेवारी टोकराज पाण्डेलाई दिएको छ ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख रहेको अरुण पोखरेल भदौ १५ गतेसम्म बिदामा बसेकाले उनको ठाउँमा पाण्डेलाई प्रमुख बनाइएको हो । निजामती राष्ट्रिय किताबखानाको महानिर्देशक रहेका पाण्डेको गत बिहीबार अर्थ मन्त्रालयमा सरुवा भएको थियो । पाण्डेलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार प्रमुखको जिम्मेवारी दिएका हुन् ।
गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट करिब एक सय केजी सुन तस्करी हुँदा भन्सार प्रमुख पोखरेल बिदामा थिए । सरकारले लामो समय निमित्तबाट कार्यालय सञ्चालन गर्नुभन्दा पाण्डेलाई जिम्मेवारी दिएको जनाएको छ ।गत पुस १० मा विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे नौ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि पोखरेल बिदामा बसेका थिए । पोखरेल बिदामा रहेकै बेला करिब एक क्विन्टल सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
कांग्रेस नेतृ आरजु देउवा भन्छिन– शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल भो
नेपाली कांग्रेस नेतृ डा.आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको बताएकी छन्। मंगलबार बिहान जनकपुरधामस्थित नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्वपूर्ण हुने भए पनि कहिलेकाहीँ मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुने स्थिति चिन्ताको विषय भएको बताइन् ।
‘कहिलेकाहीँ मिडियाबाट आक्रमण पनि हुन्छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि पनि त्यही भयो”, उनले भनिन्, ‘यस प्रकरणमा सयौं टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ। त्यसैलाई उछालियो । टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो ।’
रास्वपा बझाङ जिल्ला संयोजक नगेन्द्र खड्का निलम्बन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ।
रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले पार्टीको अनुशासन समितिको बैठकले खड्कामाथि कारबाहीको निर्णय गरेको जानकारी दिए। खड्कामाथि बझाङका एक सञ्चारकर्मीमाथि हातपात गरेको आरोप लागेको थियो। रास्वाको अनुशासन समितिले यसमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
सुदूरपश्चिम सरकारमा सहभागी नहुने नागरिक उन्मुक्तिको निर्णय
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ। सहमतिअनुसार भागबण्डा नमिलेको भन्दै सरकारमा सहभागी नहुने निर्णय गरिएको पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन्।
मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेख्दै अध्यक्ष श्रेष्ठले सो जानकारी गराएकी हुन्। ‘नागरिक उन्मुक्ति पार्टी केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकोले सहभागी नहुने जानकारी गराउँदछौं,’ पत्रमा भनिएको छ। टीकापुरस्थित पार्टी कार्यालयमा भएको बैठकले दुई मन्त्री र दुई राज्यमन्त्री माग गरेको छ। पार्टी अध्यक्ष श्रेष्ठ भने केन्द्र सरकारमा भूमि व्यवस्था तथा सहकारीमन्त्री रहेकी छन् ।
केन्द्रीय सदस्यहरुलाई शशांक कोइरालाको चियापान, सभापति देउवा सहभागी
नेपाली कांग्रेसका नेता शशांक कोइरालाले चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
पूर्व महामन्त्री समेत रहेका केन्द्रीय सदस्य कोइरालाले लैनचौर बैंक्युटमा आयोजना गरेको चियापन कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, परराष्ट्र मन्त्री एनपी साउद, मिनेन्द्र रिजाल, विनोद चौधरी लगायत नेताहरू सहभागी छन् । केन्द्रीय समिति बैठककै बीचमा राखिएको चियापनमा कांग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, बागमती प्रदेश सांसद, काठमाडौंमा उपलब्ध जिल्ला सभापति पनि सहभागी छन् ।
रुपन्देहीका नदीमा फसेका पाँच जनाको उद्धार
रुपन्देहीका विभिन्न नदीमा फसेका पाँच जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
बुटवल उपमहानगरपालिका १३ र १४ को सीमाना दानव नदीमा दाउरा खोज्न गएर फसेका एक जना, तिनाउ नदीमा फसेका एक जना र मायादेवी गाउँपालिका ३ बेथरीमा तिनाउ नदीमा फसेका तीन जनाको उद्धार गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले बुटवल–२ पाखापानीमा बस्दै आएका ६४ वर्षीय मीनबहादुर गाहा, मायादेवी गाउँपालिका–६ का २६ वर्षीय अबदेश पाल, २० वर्षीय सुनिल पाल र सीयारी गाउँपालिका–२ का अबदेशकुमार यादवको उद्धार गरिएको हो। यसैगरी प्रहरीले बुटवल–११ टपमजुवाको तिनाउ नदी किनारमा रहेको हरिलाल गाहाको घरको सामान सुरक्षित ठाउँमा सारिएको प्रहरीको भनाइ छ।
धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरको अवरोध
काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि अवरोध गरेको छ।काठमाडौं महानगरपालिका– ३२ स्थित शंखमूलघाटमा स्थानीयले आयोजना गरेको ‘प्रथम शंखमूल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौं महानगरपालिको प्रहरी टोलीले अवरोध गरेको हो ।
गत १ साउनदेखि सञ्चालन भइरहेको महोत्सवमा मंगलबार महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले अनुष्ठान बन्द गर्न आग्रह गरेको हो। महानगरपालिकासँग अनुमति नलिई अनुष्ठान गरिएको भन्दै बन्द गराउन महानगर टोली पुगेको हो ।
धार्मिकस्थलमा मात्र धार्मिक कार्यक्रम गर्न नगरप्रहरी प्रमुख पाण्डेले आग्रह गरे भने स्थानीयले पनि सो स्थल धार्मिक स्थल नै भएकाले महोत्सव आयोजना गरेको जवाफ दिए ।




