मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

असार ३१ आइतबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभर घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।

हेर्नुहोस संकल्प खबरका १० मुख्य समाचारः

ललिता निवास प्रकरणस् थप पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले मिनबहादुर गुरुङ सहित १७ जनालाई सरकारी कागजात किर्तेको उजुरीमाथि अनुसन्धानका सिलसिलामा थुनामा राख्न अनुमति दिएको हो ।

आफूहरुलाई गैरकानूनी थुनमा राखिएको दावी गर्दै गुरुङ लगायतका केही आरोपितले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि दिएको निवेदनमा आइतबार नै सुनुवाइ भइरहेको छ ।

वीरमा भोलिदेखि बिहान ८ बजेदेखि नै ओपीडी सञ्चालन हुने

वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले असार २२ गते गरेको वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय भोलिदेखि कार्यान्वयनमा आउन लागेको हो। तर, न्याम्स अन्तर्गतका केही चिकित्सकले भने यो निर्णयप्रति आपत्ति जनाउँदै आएका छन्।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमले अबदेखि पेट्रोलको परल मूल्यमा २।५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा लिने व्यवस्था गरेको छ । आज राती १२ बजेदेखि लागू हुने गरेर डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको हो ।

राष्ट्रपति समक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रस्तुत गरेका छन् । उनले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । २०७९ असार मसान्तसममका अदालती कामकारबाहीका विवरण समेटिएको प्रतिवेदन ढिलो गरी राष्ट्रपति समक्ष पेश भएको हो ।

प्रतिवेदन बुझाउन प्रधानन्यायाधीश कार्कीका साथै सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, मुख्यरजिष्ट्रार लालबहादुर कुँवर लगायत सर्वोच्च अदालतका बरिष्ठ अधिकारीहरु उपस्थित थिए भने राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवर, राष्ट्रपति कार्यालयका सचिव लगायतको उपस्थिती थियो ।

राष्ट्रिय सभा अनिश्चितकालका लागि स्थगित

सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणवस बस्ने नसक्ने भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको हो । बैठक बस्नेबारे अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।


राष्ट्रपतिबाट ३ विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी बजेटसँग सम्बन्धित तीनवटै विधेयक प्रमाणीकरण भएको जनाएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रमाणीकरण गरेका हुन् ।

अर्थमन्त्री डा .प्रकाशशरण महतले गत १५ जेठमा आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट ल्याएका थिए । उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल भई पारित भएपछि राष्ट्रपतिसमक्ष पठाइएको थियो । आगामी आर्थिक वर्षको बजेट १ साउन अर्थात सोमबारदेखि कार्यान्वयन हुनेछ ।

आयोगद्धारा मिटरब्याजीले हडपेको ४१ बिघा जग्गा फिर्ता

मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याजीले हडपेको करिब ४१ विघा ८ कठ्ठा ११ धुर जग्गा ऋणीलाई फिर्ता गराएको छ । आइतबार एक विज्ञप्ति गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले यस्तो बताएका हुन् ।
आयोगले २०८० वैशाख १७ देखि जेठ १४ गतेसम्म पीडितबाट निवेदन संकलन कार्य थालेर मेलमिलापबाट समस्या समाधानको पहल गरेको अध्यक्ष कार्कीको भनाइ छ । मिटरब्याजबाट पीडित बनेकाहरुले अहिलेसम्म आयोगमा करिब २४ हजार उजुरी परेको छ । तीमध्ये मधेशका ८ जिल्लाका मात्र १८ हजार भन्दा धेरै उजुरी रहेका छन् । उजुरीमध्ये डेढ महिनामा एक हजार ८८२ वटा निवेदन मेलमिलापबाट समस्या समाधान गरिएको कार्कीले बताए ।

अध्यागमन विभागमा मेनपावर व्यावसायीको अवरोध

वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई रोकेको भन्दै मेनपावर व्यवसायीले अध्यागमन विभागमा अवरोध गरेका छन्। आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले अध्यागमन विभागका महानिर्देशकको राजीनामा माग गर्दै प्रर्दशनसहित विभागमा अवरोध जनाएका हुन् ।

केही दिन अघि घरेलु कामदारको रुपमा कुवेत जानलागेका ११७ जना लाई अध्यागमन विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फर्काएकोे थियो । अध्यागमन विभागले भिषा चेक गर्दा दुई प्रकारको भिषा बनाएर मेनपावरले पठाउन लागेको भन्दै कुवेत जान लागेका श्रमिकहरुलाई फर्काएको जनाएको थियो ।

देउवा निवासमा सोमबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्ने

केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाएका छन्।भोलि सोमबार दिउँसो २ बजे आफ्नो निवासमा देउवाले छलफलका लागि बैठक बोलाएका हुन्।

जयनगर– जनकपुरको रेल्वे सेवा आजबाट ५२ किलोमिटरसम्म संचालनमा

आइतबारबाट जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा रेल संचालनमा आएको छ । उक्त रेल सेवाको उदघाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गरेका थिए ।महोत्तरीको भंगहा स्टेशनमा थप १७ किलोमिटर रेल सेवाको उदघाटन मन्त्री ज्वालले गरेका हुन् ।

यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएकोमा आइतबारबाट १७ किलोमिटर थप रेल संचालन हुने भएपछि अब जनकपुर जयनगर रेल सेवा ५२ किलोमिटरसम्म संचालनमा आउने भएको छ ।

देउवाले भोलि पदाधिकारीसँग छलफल गरेपछि पर्सी बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुनस् छलफल गर्ने छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *