काठमाडौं । जिल्ला प्रहरी कार्यायल सिरहामा एक जना प्रहरी जवानलाई पाता कसेर यातना दिएको छ । कार्यालयमा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको घटना सामाजिक संजालमा भाइरल बनेको छ ।
प्रहरी जवान अनु रायलाई बढि डियटी गराएकाले उक्त गुनासो पेश गर्नका लागि जाँदा मंगलबार साँझ प्रहरी निरीक्षक हेमन्त राईले यातना दिएको पीडित प्रहरीले बताएका छन् । उनका भाइ रजनिस रायका अनुसार पिडित प्रहरीलाई १२ घण्टासम्म पाता कसेर यातना दिएको छ ।
सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुले भने रायले जाँड रक्सी खाएर जिल्ला अदालत अगाडि स्थानीयबासिन्दालाई कुटपिट तथा दुर्व्यवहार गर्न थालेपछि समातेर ल्याइ सम्झाई बुझाई राखेको बताए । मादक पर्दाथ सेवन गरेर नराम्रो काम गरेकाले नियन्त्रणमा लिएर चेतना दिएको लिम्बुको भनाइ छ ।
एसपीले मादक पदार्थ सेवन गरेको आरोप लगाएपछि उनका भाइले तत्कालै प्रादेशिक अस्पताल सिरहामा मेडिकल टेस्ट गराएका थिए । उक्त मेडिकल रिपोर्टमा भने मादक पदार्थ सेवन नगरेको पाइएको छ ।




