मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

असार २१ बिहिबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभर घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
हेर्नुहोस संकल्प खबरका १० मुख्य समाचार

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उनलाई दुई या दुई भन्दा बढी दलको समर्थनमा उनलाई कोशी प्रदेशको पाँचौ मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । थापालाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एसका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । सभामुख बाबुराम गौतमले पनि थापाको समर्थनमा हस्ताक्षर गरेका छन् ।

हातपात प्रकरण : वकिल र कर्मचारीबीच ७ बुँदे सहमति

ललितपुर जिल्ला अदालतका कर्मचारी र कानून व्यवसायीबीच सहमति भएको छ । बारका प्रतिनिधि र कर्मचारीसहितको रोहबरमा नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेले ७ बुँदे सहमति गरेका छन् ।

असार १३ गते लामिछानेले तामाङलाई कार्यकक्षमा कुटपिट गरेपछि वकिल र कर्मचारीबीच तनाव बढ्दै गएको थियो । यसले न्याय सेवासमेत प्रभावित बनेको छ ।

सहमतिअनुसार बार र कर्मचारी दुवैतर्फका आन्दोलन फिर्ता लिइएको छ ।

उच्च अदालतमा आङटावा शेर्पासहित ७ जनाको निवेदन दर्ता

नक्कली भुटानी शरनार्थी प्रकरणमा अमेरिका पठाउने नाममा ठगीधन्दा चलाएको आरोपमा थुनामा रहेका मध्ये ७ जनाले उच्च अदालतमा निवेदन दर्ता गरेका छन् ।

काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सांसद आङटावा शेर्पा र डा।इन्द्रजित राईसहित ७ जनाले दिएको निवेदन दर्ता भएको उच्च अदालत पाटनका रजिष्टार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

पूर्व सांसद आङटावा शेर्पा, नरेन्द्र केसी, गोविन्दबहादुर चौधरी, पूर्व सांसद डा।ईन्द्रजित राई, सानु भण्डारी, हरिभक्त महर्जन र लक्ष्मी महर्जनले फौजदारी कार्यविधि संहिता २०७४ को दफा–७३ बमोजिम ‘बेरितको आदेश बदर गरिपाउँ’ भन्दै निवेदन दर्ता गरेका हुन् ।

सात दलको निष्कर्ष : प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुनपर्ने

सत्तारुढ सात दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा मागेकोबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सात दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा छलफल भएको र राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका नेता हितराज पाण्डेले जानकारी दिए ।

‘प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर हिजो संसद अवरुद्ध भयो र त्यहाँ प्रमले राजीनामा गर्नुपर्छ भन्ने कुरा आयो, राजीनामाको कुरा कल्पना पनि गर्न सकिन्न’, पाण्डेले भने, ‘जे कुरा हो त्यो कुरा प्रधानमन्त्रीले सदनमा राख्ने ।’

एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा आज सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।

दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए ।

जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिए । जुन गत वर्षको भन्दा ४.६३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्सल जीपीए ल्याएका थिए ।

बुटवलमा पहिलोपल्ट ‘रक्त संकलन मोबाइल एम्बुलेन्स

रोटरी क्लव अफ बुटवलले रगतको अभाव परिपूति गर्ने उदेश्यले बुटवलमा पहिलोपल्ट ‘रक्त संकलन मोबाइल एम्बुलेन्स’ ल्याइएको छ । रगत संकलनमा सहजता कायम गर्नका लागि उक्त रक्त संकलन मोबाइल एम्बुलेन्स संचालनमा ल्याइएको हो । अब रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिने भएको छ ।

उक्त क्लवले उक्त रक्त संकलन एम्बुलेन्स शुक्रबार नेपाल रेडक्रस सोसाइटी रुपन्देहीलाई हस्तान्तरण गरिएको छ । यो एम्बुलेन्स खरिदका लागि रेडक्रसले पनि साझेदारी गरेको जनाइएको छ ।

प्रधानमन्त्रीले राजीनामा दिनु हुन्न : प्रवक्ता शर्मा

सरकारले एसियाली विकास बैंकबाट बजेटरी सहायताका रुपमा प्राप्त हुने ५० अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न विहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले भन्सार तथा लजिष्टिक सुधार कार्यक्रम अन्तर्गत एसियाली विकास बैंकबाट बजेटरी सहायताका रुपमा प्राप्त हुने सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरिएको जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले प्रधानमन्त्रीले पुस्तक बिमोचनका क्रममा राखेको अभिव्यक्तिकै कारण राजीनामा नदिने स्पष्ट पारिन् । उनले प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय नभएको बताएकी छन् । प्रधानमन्त्रीले अन्यथा बिषय नबोलेकाले यसमा विवाद गर्न नहुने उनको भनाइ छ । प्रवक्ता शर्माले संसद अवरुद्ध हुँदा मिटरब्याजसम्बन्धी अध्यादेश नै निष्कृय हुन पुगेको जिकिर गरिन् ।

काठमाडौं महानगरको नगरसभा स्थगित

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पास गर्न बोलाइएको काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ ।१० असारमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् ।

नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेटमा छलफल नै नभएको र मेयर बालेन्द्र शाह र उपमेयर सुनिटा डंगोलको एकलौटी भएको भन्दै बजेट पास गर्न बोलाएको नगर सभा अवरुद्ध बनेको हो ।

फरार रहेका एलओडीका मालिक राजुसिंह सुवाल पक्राउ

नेपाल प्रहरीले काठमाडौंको ठमेलस्थित नाइट क्लब एलओडीका मालिक राजुसिंह सुवाललाई काठमाडौंको बालुवाटारबाट पक्राउ परेका छन् । ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरु सुवालसँगै रुदिलबल्लव श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि पक्राउ पुर्जीको आधारमा सुवाललाई काठमाडौं प्रहरीले बालुवाटारबाट पक्राउ गरेको हो ।

एलओडीमा छिरेकी १६ वर्षीया बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएको निवेदन प्रहरीलाई दिएपछि प्रहरी उनलाई नियन्त्रणमा लिने प्रयासमा लागि परेको थियो ।

कांग्रेस जिल्ला सभापतिहरुको भेलामा पार्टी गतिविधि शिथिल भएको गुनासो

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टीको गतिविधिहरु शिथिल हुन थालेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको जिल्ला सभापतिहरुको बैठकमा बोल्ने सभापतिहरुले पार्टीको गतिविधिहरुमा शिथिलता आउन थालेको धारणा राखेका हुन् । उनीहरुले पार्टी गतिविधिमा शिथिलता आएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

धारणा राख्ने क्रममा सभापतिहरुले पार्टीलाई पुनःजागरण गर्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *