असार २० बुधबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभर घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
हेर्नुहोस संकल्प खबरका १० मुख्य समाचार
मिटर ब्याजसम्बन्धी अध्यादेश निष्क्रिय !
काठमाडौं । सरकारले ल्याएको मिटर ब्याज पीडितको समस्या समाधानसम्बन्धि अध्यादेश निष्क्रिय भएको छ ।
गत वैशाख २० मा सरकारले ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक संविधान अनुसार ६० दिनभित्र संसदबाट पारित हुन नसकेका कारण निष्क्रिय भएको हो ।
अध्यादेशको प्रतिस्थापन विधेयक राष्ट्रियसभाले १५ असारमा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । प्रतिनिधिसभाले बुधबारसम्म पारित गरेर राष्ट्रियसभामा पठाउनुपर्ने थियो र राष्ट्रियसभाले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पठाउनुपर्नेमा नेकपा एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा अवरुद्ध गरेर बैठक स्थगित भएपछि यो विधेयक निष्क्रिय भएको हो ।
एमालेको विरोधपछि राष्ट्रिय सभा र प्रतिनिधि सभा बैठक स्थगित
नेकपा एमालेले संसद अवरुद्ध गरेपछि राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । एमाले अवरोधका कारण स्थगित भएको राष्ट्रिय सभाको बैठक २१ गते एक बजेपछि संचालनमा आउने जनाइएको छ भने प्रतिनिधि सभाको बैठक २२ गते दिउँसो ३ बजेपछि संचालनमा आउने भएको जनाइएको छ । बुद्धबार संचालनमा आएका दुबै सदनको बैठकमा नेकपा एमालेले लगाएत प्रतिपक्ष दलहरुले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर विरोध जनाएका थिए ।
प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामा माग गर्दै उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने र राजीनामा नदिएसम्म बैठक अघि बढ्न नसक्ने बताएका थिए । पटक–पटक जारी बैठक शान्तिपूर्ण संचालनमा आउन नसकेपछि स्थगित हुन पुगेको हो ।
प्रधानमन्त्रीको जवाफ होइन राजीनामा चाहियोः ओली
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् ।
आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेसहित प्रतिपक्षी दलहरुले आपत्ति जनाउँदै प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।
बुधबार बसेको संघीय संसदको दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुले प्रधानमन्त्रीको राजीनामा माग्दै बैठक नै अवरोध गरेका थिए ।
भ्रष्टाचारविरूद्ध सतिसालझैं उभिन्छु : प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैं उभिने बताएका छन् ।
बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको बताएका हुन् ।
कांग्रेसको केन्द्रीय समिति बैठक असार २७ गते
नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक असार २७ गते बस्ने भएको छ । सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापा र विश्वप्रका शर्माले केन्द्रीय समिति बैठकको मिति बुधबार टुंगो लगाएको हो ।
कांग्रेस केन्द्रीय समिति बैठक यसअघि असार २७ गतेदेखी साउन दुई गने सम्म बसेर स्थगित भएको बैठक पुनः बस्नेगरि मिति तोकिएको कार्यबाहक मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिए ।
हर्क साम्पाङको पक्षमा अदातलको आदेश
उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई धरान खानेपानी व्यवस्थापन बोर्ड अध्यक्षको रुपमा काम गर्ने बाटो खोलिदिएको छ ।
धरान खानेपानी व्यवस्थापन बोर्ड सदस्यले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै अदालतले अध्यक्षको रुपमा काम गर्ने बाटो खोलिदिएको हो ।
हर्क साम्पाङले खानेपानी बोर्डको स्वघोषित अध्यक्ष भएर आफूखुसी काम गरेको र बैठक पनि नबोलाएको भन्दै उनी विरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।
सुकुम्वासी बस्ती ६ महिनाभित्र हटाउन सरकारलाई निर्देशन
प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकले नदी किनारका ससुकुम्वासी बस्ती ६ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकमा वाग्मती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधरीले ६ महिनाभित्र काठमाडौँ उपत्यकाभित्रका वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरालगायत नदी किनारका सुकुम्वासी बस्ती हटाउन सरकारलाई निर्देशन दिएका हुन् ।
आजदेखि लाइसेन्सका लागि नयाँ आवेदन, अब राजस्व अनलाइनबाटै
यातायात व्यवस्था कार्यालयहरु लाग्ने गरेको भीड र विचौलिया प्रवृत्ति अब अन्त्य हुने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन विद्युतीय माध्यमबाट गर्ने भएको छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९ दशमलव २६ अङ्कले घटेर दुई हजार ४९ दशमलव २६ अङ्कमा सीमित भएको छ ।
आजको कारोबारमा सेन्सेटिभ र फ्लोट इन्डेक्ससहित सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक चार सय नौ दशमलव ७६ र निर्जीवन बीमा समूहको उपसूचक तीन सय १० दशमलव ८५ अङ्कले घटेको छ ।
गुण्डा नाइके समिरमान सिंह बस्नेत आजीवन जेलमा बस्नुपर्ने
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाइएको छ । बुधबार बस्नेत विरुद्धकाठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले जन्मकैदको फैसला सुनाएको हो ।
काठमाडौँ जिल्ला अदालत स्रोतका अनुसार हत्यामा मुख्य योजनाकारको रुपमा चिनिएका समिरमान सिंह बस्नेतसहित काले भन्ने भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाइएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ । हत्यामा गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद ,त्यस्तै समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना गरिएको हो ।




