काठमाडौं । जनता समाजवादी पार्टीले संसद्मा प्रस्तुत बजेटले धेरै क्षेत्रलाई उपेक्षा गरेकाले त्यसलाई यथास्थितिमा पारित गर्न नसकिने बताएको छ ।
अध्यक्ष उपेन्द्र यादवले बिहीबार पत्रकार सम्मेलनमा बजेटमा सुधारको जरुरी रहेको बताए । उनले भने, ‘अहिलेको बजेटमा एकलौटी ढंगले गठबन्धनमा रहेका दलसँग छलफल नै नगरी ल्याइएको छ । मधेस लगायतलाई उपेक्षा गरेको छ । यसलाई सुधार गर्नुपर्छ, यथास्थितिमा बजेट पास हुन्न । बजेट न्यायोचित छैन ।’
समाजवादी मोर्चामा बाबुराम भट्टराईको दललाई नसमेटेको विषयमा पनि उनले टिप्पणी गरे । भट्टराई एक्लै हिँड्न रुचाउने व्यक्ति भएको उनको भनाइ थियो । ‘बाबुरामलाई हामीले समातेको पनि हैन छोडेको पनि छैन’, उनले भने, ‘यो मोर्चामा कहिल्यै देखिनँ । बाबुरामजीको एक्लै हिँड्ने बानी छ । त्यसैले ठिकै जस्तो पनि छ । सबैलाई समेट्ने होइन, समेटिनेलाई समेट्ने हो ।’ मोर्चामा संलग्न रहेका दलहरु एउटै पार्टीको रुपमा नरहेकाले यसलाई मिल्ने मुद्दामा सहकार्यको रुपमा मात्र बुझ्नुपर्ने उनको भनाई थियो ।




