काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाईं विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
तीन करोड ५७ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले सोमबार राजभण्डारीविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
राजभण्डारी सार्वजनिक सेवामा प्रवेश गरेको ३० फागुन ०५१ देखि ३१ भदौ ०७९ सम्मको आम्दानी र खर्चको अख्तियारले विश्लेषण गरेको थियो । उक्त अवधिमा उनको वैधानिक आय तीन करोड ८५ लाख ५१ हजार ७४१ रुपैयाँ देखिएको आरोपपत्रमा उलेल्ख छ ।
सोही अवधिमा उनको खर्च तथा लगानी सात करोड ४२ लाख २९ हजार ६६ छयासी रुपैयाँ देखिएको थियो । कुल वैधानिक आयलाई कुल व्ययसँग तुलना गर्दा आयभन्दा तीन करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँको वैधानिक स्रोत पुष्टि हुन नसकेको आरोपपत्रमा उल्लेख छ ।
स्रोत नखुलेको सम्पत्ति गैरकानुनी रुपमा आर्जित भएको दावी गर्दै अख्तियारले त्यसैलाई बिगो कायम गरेर अदालतमा मुद्दा दायर गरेको हो ।




