काठमाडौं । कोशी प्रदेशका पहाडी जिल्लामा आएको बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । शनिबार रातिदेखिको वर्षापछि आएको बाढी-पहिरोमा संखुवासभा, ताप्लेजुङ र पाँचथरका आठजनाको मृत्यु भएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अहिलेसम्म ताप्लेजुङमा ४, पाँचथर २, भोजपुर र संखुवासभामा एक-एक जनाको मृत्यु भएको छ । तीमध्ये पहिरोले पुरेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुङ ८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका ९ का २६ वर्षीय सन्तोष राई, पाँचथर फालेलुङ ४ की ९ वर्षीया जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, पाँचथरकै २५ वर्षीया एलिसा माझी छन् । यस्तै ताप्लेजुङ फिदिङ्वा ६ का ३० वर्षीय गणेश तामाङ, ६७ वर्षीय केशर राई र सोही ठाउँका ३६ वर्षीय सुरेश राई छन् । हालसम्म ९ जना घाइते भएका छन् भने २८ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
संखुवासभामा २१, पाँचथरमा ४ र ताप्लेजुङमा ३ जना बेपत्ता छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले बताएको छ ।
शनिबार रातिको बाढीपहिरोबाट कोशीका पहाडी जिल्लामा दर्जनौं घर क्षतिग्रस्त भएका छन् । सडक, पुललगायत संरचना बग्दा यातायात सम्पर्क प्रभावित भएको छ । निर्माणाधीन र निर्माण सकिएका १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनाको उद्धार गरिएको छ । याङ्बरक १ फेदी गाउँमा फसेका १२ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।




