काठमाडौं । एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । रायमाझी पूर्वऊर्जामन्त्री हुन् ।
नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार रहेका डा.इन्द्रजित राईसहित ६ जना यसअघि पक्राउ परिसकेका छन्। राईका छोरा निरजविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । राईले विभिन्न समयमा गरी साढे पाँच करोड रुपैयाँ लिएको खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीमा संलग्न केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, सन्देश शर्मा र टंक गुरुङलाई पक्राउ गरिसकेको छ । पक्राउ परेकामध्ये दुलाल पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाका निजी सहायक थिए । शर्मा र भण्डारी पूर्वऊर्जामन्त्री रायमाझीका सहयोगी थिए ।




