काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा वरिष्ठ पत्रकार डा.सुरेश आचार्य नियुक्त भएका छन् ।
कांग्रेस उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्यलाई नियुक्त गरेका हुन् ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्य विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा अनवरत रुपमा सक्रिय रहँदै आएका छन् । सिन्धुली घर भएका उनले कांग्रेसका विभिन्न समितिमा रहेर कार्य गरिसकेका छन् । उनले लामो समयसम्म तरुण साप्ताहिकको प्रधानसम्पादक भएर पत्रकारिता गरेका थिए । यसअघि नीति, अध्ययन तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पत्रकार पुरुषोत्तम दाहाल थिए । उनले राजीनामा दिएपछि पद रिक्त थियो ।




