राजनीति

वैशाख १० गते चितवन २ मा उपनिर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौँ । आगामी वैशाख १० गते चितवन संघीय निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने निर्णय भएको छ । निर्वाचन आयोगको आज (आइतबार) बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम वैशाख १० गते आइतबारका दिन उपनिर्वाचनको समय तालिका सार्वजनिक गरेको हो ।

चितवन संघीय निर्वाचन क्षेत्र नं. २ बाट मंसिर ४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विजय हात पारेका थिए । तर सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकत अवैद्य भएको घोषणा गरेपछि उनको सांसद पद खारेज भएको थियो । उक्त पद खारेज भएपछि रिक्त पद पुुर्तिका लागि निर्वाचन आयोगले उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको हो ।

‘ प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका रवि लामिछाने अयोग्य भएको सर्वोच्च अदालतबाट मिति २०७९।१०।१३ मा आदेश भै आएको र संघीय संसदको च.नं. ३२ मिति २०७९।१०।१९ को पत्रबाट श्री रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद नेपालको संविधानको धारा ८९ को (ख) बमोजिम रिक्त भएको भनी आयोगमा जानकारी प्राप्त भएको थियो’, आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको छ । साथै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था रहेको सो विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *