काठमाडौं । सुदुरपश्चिम प्रदेश सरकार ढलेपछि नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफुहरु प्रयोगको साधन नभएको स्पष्ट पारेकी छन् ।
प्रदेश सरकारलाई विश्वासको मत दिने बैठक बहिस्कार गरेका प्रदेश सांसदहरुसँगको सामूहिक तस्विर सार्वजनिक गर्दै श्रेष्ठले बिचारमा कटिवद्ध रहेको बताएकी छन् । उनले भनेकी छन्,‘हामी विचारमा कटिबद्ध छौँ, सबैले सधैं प्रयोग गर्ने साधन होइनौं । यो देश हाम्रो पनि हो,देशको शासन प्रशासनमा हाम्रोपनी सहभागिता रहनुपर्दछ । भौगोलिक सांस्कृतिक पहिचान नेपालीको पनि सम्मान हो, मुलबासिको अपमान गरेर मुलुक कहिल्यै समृद्धिशाली हुनसक्दैन त्यसैले जनभावनाको कदर गरौँ ।’
श्रेष्ठले जनमतको कदर गर्न माग गर्दै टिकापुर घटनाप्रति राज्य अनुदार रहेको बताएकी छन् । ‘अहिलेसम्म राज्य टीकापुर घटनाप्रति अनुदार छ । मानवअधिकारकर्मीहरुले आँखा खोलेका छैनन् । हामीलाई उचालल्नेहरुको ताँती पनि लामै छ । तर हामी न्यायको पालना गरेर जेलमा चौखुरिएर बस्न बाध्य छौं। राष्ट्रप्रति हिजो, आज र भोलि पनि उत्तिकै बफादार थारुलाई न्यायिक दृष्टिको प्रकाश किन परिरहेको छैन ? झ्यालखानाको बुइँगलबाट न्यायको घाम झुल्किन्छ कि भनेर हामी सधैं नियालीरहन्छौं । न्यायको पारिलो घाम आँखाले देख्दादेख्दै पनि शासकले छानो हालेर जबरजस्ती छायाँ बनाइरहेको पनि प्रष्टै देखिन्छ ।’
नागरिक उन्मुक्ती पार्टीले विश्वासको मत नदिएकै कारण एमाले नेतृत्वको सुदुरपश्चिम प्रदेश सरकार गठन भएको एक महिनामै ढलेको छ । त्यसलगत्तै कांग्रेस नेतृत्वको सरकार गठन भएको छ ।




