काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री नियुक्त भएकी छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा कार्कीले ललितपुर ३ बाट बहालवाला ऊर्जामन्त्री पम्फा भुसाललाई हराएर चर्चामा आएकी थिइन् ।
पाटन अस्पतालकी सर्जन कार्की बहालवाला मन्त्रीलाई पहिलोपटक नै हराउन सफल भएपछि सबैको चासोमा परेकी थिइन् । नयाँ सरकार बनेदेखि नै उनलाई स्वास्थ्य मन्त्री बनाउनुपर्ने भन्दै व्यापक लबिइङ सुरु भएको थियो । तर कार्की अन्तिममा एमाले अध्यक्ष केपी ओलीको कृपामा स्वास्थ्य राज्यमन्त्री नियुक्त भएकी छन् ।
स्वास्थ्य मन्त्रीमा एमालेका पदम गिरी नियुक्त भएका छन् । तर राज्यमन्त्री भने ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद कार्कीलाई बनाएका छन् । ओलीले अहिले आफ्नो पार्टीले पाएको स्वास्थ्य मन्त्रालयमा किन राज्यमन्त्री दिए भन्ने चर्चा सुरु भएको छ । फुल मन्त्रीलाई चुनावमा हराउने, तर आफू चाहिँ राज्यमन्त्रीमा नियुक्त हुने भन्दै टीकाटिप्पणी सुरु भइसकेको छ ।
अर्को पार्टीले पाएको मन्त्रालयमा राज्यमन्त्री बनेर डा.कार्कीले खासै केही काम गर्लिन् भन्ने धेरैलाई लागेको छैन । तर केपी ओलीले उनीमाथि धेरै भरोसा र सदासयता देखाएका छन् । यदि सहमतिअनुसार नै यो सरकार साढे दुई वर्ष चलेमा अर्को कार्यकालमा कार्कीलाई फुलमन्त्रीमा बढुवा गर्न सकिने ओलीको चाहना रहेको अनुमान गरिएको छ ।




