काठमाडाैं।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफैंलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्ति रहेको भन्दै त्यसको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्विकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै उनले त्यस्तो नहुन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन ।
‘कमसेकम विगतमा गल्ती हुन पुग्यो भनेर महसुस भए त हुन्थ्यो । तर यो महसुस नै नगर्ने राजनीतिक वृत्तमा एउटा प्रवृत्ति देखिन्छ–मैले जे गरेँ, ठिक गरेँ । शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुस नगर्ने, अहंकार प्रर्दशन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ने ठान्ने, आफूलाई सुप्रिम र सुप्रिमो ठान्ने नेपाली राजनीतिमा पनि यो प्रवृत्ति देखिन्छ,’ उनले भने, ‘यो प्रवृत्तिको सरकार वर्तमान प्रधानमन्त्री नभईदिनु होला है । मेरो आग्रह छ । विनम्रतालाई अवलम्बन गर्नु होला । संविधानको मूल मर्म र भावनालाई ध्यान दिनुहोला । राम्रो संस्कार र संस्कृति अवलम्बन गर्नुहोला । राम्रो संस्कार अवलम्बन गर्नु भयो भने तपाईलाई असल मानिस भनिएला ।’
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचार नियन्त्रण गर्ने, विकास, निर्माणको कामलाई गतिदिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई १५ बूदे शर्तसहित विश्वासको मत दिएको पनि स्पष्ट पारे ।
‘समाजवादको खाकासहितको १५ बूँदे सुझावलाई ध्यान दिएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका हौं । त्यसमा राष्ट्रियताको विषयबस्तुदेखि लिएर जनजीविकाका विषयबस्तुसम्म, युवाको बेरोजगारीदेखि लिएर शिक्षा प्रणाली सुधार गर्नुपर्ने कुरासम्म, श्वास्थ्य अवस्थाको विकराल रुप सुधार गर्नेदेखि लिएर अनि हाम्रो विकास, निर्माणको पाटोसम्म नेपाली समाजमा रहेका विभिन्न वर्ग समूदायको बेहाल अवस्थादेखि लिएर समावेशिताको नीतिसम्म, समाजवादको नेपाली नमूना कस्तो हुन सक्दछ ? भन्ने कुरा छ,’ उनले भने ।
उनले आफ्नो पार्टीले दिएको समाजवादको खाकासहितको १५ बूँदे सुझावलाई ध्यान दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल अघि बढने विश्वास समेत व्यक्त गरे । अध्यक्ष नेपालले संविधानको मूल मर्म र भावनालाई ध्यान दिएर अघि बढन पनि प्रधानमन्त्री दाहाललाई सचेत गराएका थिए ।
‘भ्रष्टाचारबाट जोगिनुभयो भने तपाई एउटा राम्रो प्रधानमन्त्रीको कोटीमा पर्नु होला । र, देशको विकासले गति लिन सक्यो भने गति लिने काममा भूमिका खेल्नु भयो भने तपाईले इतिहासमा नाम कमाउनु होला । यसअर्थमा हिजो हामीले धेरै आशा, अपेक्षा गरेर उहाँका अगाडि १५ बूँदाहरु अगाडि सारेर, व्याख्या गरेर ती १५ बूँदे सुझावहरुसहित, शर्तहरु सहित हामीले यो सरकारलाई समर्थन गरेका हौं,’ उनले भने ।
अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने संविधानको व्यवस्था भएपनि ओलीले आफूले ठिक गरे भनेर अझै पनि अहंकार प्रस्तुत गरिरहेको भन्दै आपत्ति समेत जनाए। उनले विश्वासको मत लिने बेलामा गरेका प्रतिवद्धताहरु पूरा गर्ने काममा केन्द्रित हुन पनि प्रधानमन्त्री दाहाललाई सुझाव दिए। सरकारले जनतालाई अनुभूति हुने गरी काम गरे आफ्नो पार्टीले प्रतिपक्षमा बसेर पनि साथ र सहयोग रहिरहने उनको भनाई थियो । अध्यक्ष नेपालले सरकारलाई राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा काम गर्न आफ्नो पार्टीले घच्घच्याई रहने पनि बताए ।




