काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् । थपलियाले ‘नो नट अगेन’ बारे बोलिरहँदा कसैले पनि निर्वाचन र उम्मेदवारहरुप्रति लक्षित मिथ्या सूचना, चरित्र हत्या लगायत दुष्परिणामयुक्त शब्दहरू प्रयोग गर्न नहुनेप्रति सचेत गराएका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंसिर ४ मा हुने प्रतिनिधिसभाको उम्मेदवार हुनबाट रोक्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । कात्तिक २० मा पेस भएको रिट सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको जनाएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन् । सोमबार धनगढीस्थित आफ्नै निवासमा बोलाएर कांग्रेसका असन्तुष्ट नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूसँग भेटघाट र छलफल गरेका हुन् ।
नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले मुलुकको विकास र समृद्धिका लागि कांग्रेस नेतृत्वको गठबन्धन विजयी हुनुपर्ने बताएका छन् । संविधान र प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनको लागि कांग्रेसको नेतृत्वमा वर्तमान गठबन्धन बनेको स्पष्ट गर्दै उनले सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले मिचेचको नेपालको पश्चिमतर्फको भूमि फिर्ता ल्याएरै छाड्ने दावी गरेका छन् । आफूले दार्चुला पुगेर भारतले मिचेको भूमि फिर्ता ल्याउने भनेर गरेको भाषणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको जवाफबारे उनले यस्तो बताएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पारेका छन् । महोत्तरी सदरमुकाम जलेश्वरमा आइतबार आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्रको सार्वजनिक गर्दै उनले मधेसी जनतालाई थप अधिकार सम्पन्न बनाउनका लागि विभिन्न ठूला दलसँग निर्वाचनमा सहकार्य गरेको बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको ६ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुनले बिदाइ गरे । विदाईअघि उनलाई सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
्
नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ । अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइस बीच त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी नोभेम्बर ३० (मंसिर १४ गते) यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन गरिने भएको छ । जनवरी १ (पुस १७ गते) देखि व्यावसायिक सञ्चालनको घोषणा गरिएको पोखरा विमानस्थलमा क्यालिब्रेसन उडानको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
उत्तर कोरियाली सेनाले हालैको अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासलाई ‘खुला उत्तेजक र खतरनाक युद्ध अभ्यास’ को रूपमा वर्णन गर्दै ती देशलाई ‘दीगो, दृढ, र भारी’ सैन्य कारबाहीका साथ जवाफ दिने धम्की दिएको छ । उक्त अभ्यासलाई कोरियाली जन सेनाका जनरल स्टाफले ‘उत्तर तर्फ जानाजानी तनाव बढाउने उद्देश्यले गरिएको खुला उत्तेजना’ भनेका छन् ।




