काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । नागरिकता प्राप्तिसम्बन्धी विधेयकमा समावेश भएका व्यवस्थामाथि पुर्नबिचार आवश्यक रहेको भन्दै राष्ट्रपति विद्यादेवि भण्डारीले विधेयक फिर्ता गरेकी हुन् ।संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो । हिजोमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकका बारेमा राष्ट्रपतिसँग छलफल गरेका थिए ।
संघीय संसदले पारित गरकेो नागरिकता विधेयक संसदमा फिर्ता पठाउने राष्ट्रपतिको निर्णयबारे मिश्रित प्रतिक्रिया सार्वजनिक भएको छ । विधेयक फिर्ता गरेसँगै सरकारमा रहेका दलका नेताहरुले राष्ट्रपतिको भूमिका राजनीतिक प्रकृतिको देखिएको टिप्पणी गरेका छन् । नेकपा एमालेले भने विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमको स्वागत गरेको छ ।
सत्ता गठबन्धनले दलहरुका बिचमा सिट बाँडफाँटको मोडालिटि तय गर्न बनाइएको कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन दिएको दिएको छ । वालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट व्यवस्थापन समितिलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिएको कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध धर्नामा बसेको छ । मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतसहित प्रदेशका मन्त्रीहरू प्रदेश प्रमुख कार्यालयको प्राङगमा आइतबार साढे ११ बजेदेखि धर्नामा बसेका हुन् ।
निर्वाचन आयोगले राष्ट्रिय सञ्चारमाध्यमलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल बनाउन उपयुक्त वातावरण बनाउने काममा सहयोग गर्ज आह्वान गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचन सफल बनाउन महत्वपूर्ण भूमिका रहेको मुलुकका जिम्मेवार आमसञ्चार माध्यमबाट यसअघि जस्तै सकारात्मक भूमिका प्राप्त हुने विश्वास व्यक्त गरे ।
नेपाली राष्ट्रिय फुटबल टिमका अन्तरिम प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेका कारण अखिल नेपाल फुटबल संघले भदौ ११ गते घरेलु मैदानमा हुने बंगलादेशविरुद्धको खेलका लागि ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।
अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएको १२ दिनपछि अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डल ताइवान पुगेको छ ।
पेलोसीको भ्रमणपछि अमेरिका र चीनका बिचमा तनाव बढिरहेको र चीनले ताइवान स्ट्रेटमा ठूलो सैन्य अभ्यास सुरु गरेकै बेला अमेरिकी सांसदहरुको प्रतिनिधिमण्डल ताइवान पुगेको हो ।




