बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा २,३४० मतगणना भइसक्दा मेयर र उपमेयर दुवैमा एमालेले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले १,३२५ र नेपाली कांग्रेसका रंगबहादुर खातीले ८८६ मत पाएका छन् ।
उपमेयरमा एमालेकी मायाकुमारी खड्काले १,२९० मत पाएकी छन् भने कांग्रेसकी रीता शाही (शाह) ले ९१९ मत ल्याएकी छन् । हालसम्म वडानम्बर १, १० र २ को २,३४० मत गणना भएको छ । मत गणना सकिएका २ वडामा एमाले विजयी भएको छ भने वडा नम्बर २ मा पनि एमालेले अग्रता लिएको छ ।
बुढीगंगा नगरपालिकामा बिहीबार पुनः मतदान भएको थियो । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो । पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिएका छन् ।




