काठमाडौँ । चार दिनदेखि काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समिति चयनको ठोस प्रस्ताव ल्याउने कार्यसूची छ ।
त्यसकै तयारीमा अध्यक्ष प्रचण्डले आन्तरिक छलफललाई तिव्रता दिएका छन् । बुधबार बिहान प्रचण्डनिवास खुमलटारमा विस्तारित बैठक बसिरहेको छ । स्रोतका अनुसार पदाधिकारी चयनको गृहकार्य नसकिएको खण्डमा भने बुधबारको बैठकमा प्रतिवेदनमाथि मात्रै छलफल गरेर अर्को बैठकमा पदाधिकारीको नाम प्रस्तुत हुने सम्भावना पनि रहेको छ ।
माओवादीको आठौं महाधिवेशनले पारित गरेको विधानमा पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । तर, हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन्। जारी बैठकमा पार्टीका प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले पदाधिकारी टुंगो लगाउन माग गरिरहेका छन् ।
माओवादी केन्द्रमा महासचिवका आकांक्षी धेरै छन् । जनादर्न शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, पम्फा भुसाल, देव गुरुङ महासचिवका आकांक्षीका रुपमा हेरिएको छ । तर, शर्मा र पुनको सम्भावना बलियो छ । उनीहरुबीच सहमति नभएको खण्डमा भने अन्य आकांक्षीले पाउने पक्का छ ।




