समाचार

गठबन्धन देशका लागि अभिशाप : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन यो देशकै लागि अभिशाप भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले गठबन्धन टिकाउन बाहेक सरकारले अर्को कुनै काम गर्न नसकेको पनि आरोप लगाए ।

‘आफ्ना स्वार्थको खेती गर्ने ठाउँ हो यो देश ? एउटा दल विशेषका स्वार्थ, गठबन्धन विशेषका स्वार्थको बाली काट्ने, फसल उठाउने ठाउँ हो यो देश ?’ उनले प्रश्न गरे । ‘यता जुइनो खुस्किन्छ, त्यहाँ बाँध्यो, यता किला फुस्किन्छ, उता बाँध्यो,’ गठबन्धनप्रति व्यङ्ग्य गर्दै उनले अगाडि भने, ‘राजनीतिक हिसाबले, राष्ट्रियताको हिसाबले, अर्थतन्त्रका हिसाबले देशका लागि यो गठबन्धन अभिशाप हो ।’

किसानले मल पाउँदैनन्, महँगी बढेको छ तर पनि सरकार बेखबर बनर बसेको उनले आरोप लगाए । उनले भने, ‘सरकारको एउटै संकल्प गठबन्धन टिकाउने मात्र छ ।’ देशका लागि गर्नुपर्ने अठोट, संकल्प सरकारसँग केही नभएको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *