काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (सोमबार) पनि बस्दैछ । हिजोबाट शुरु भएको बैठकमा प्रदेश नेताहरूले पालिका चुनावमा कांग्रेस इमानदार नभएको भन्दै कांग्रेस वा गठबन्धनको बलमा शक्ति आर्जन गर्नुभन्दा पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड दिएका थिए ।
पार्टीलाई बलियो बनाउनका लागि केन्द्रीय पदाधिकारीदेखि प्रदेशलगायत सबै तहका कमिटीलाई पूर्णता दिनुपर्ने माग गरेका छन् । गठबन्धनमा जोड गर्दा पार्टी सङ्गठन कमजोर भएको उनीहरुको भनाइ छ । कांग्रेससँग गठबन्धन गर्दा उनीहरूको मत माओवादीको चुनाव चिह्नमा स्थानान्तरण गर्न कठिन भएको र स्थानीय नेताहरूले पनि केन्द्रको निर्णयलाई कार्यान्वयन गर्न नसकेको प्रदेश नेताहरुको भनाइ छ ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको १० पृष्ठको राजनीतिक प्रतिवेदनमा पनि पालिका चुनावमा कांग्रेस इमानदार र गम्भीर नभएको उल्लेख छ । प्रतिवेदनमा प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पाँच दलबाहिर पनि गठबन्धन या तालमेल गर्न सकिने उल्लेख छ ।
प्रदेशबाट रिपोर्टिङ गर्ने नेताहरूले पार्टीका सबै कमिटीलाई पूर्णता दिनुपर्ने माग गरेका छन् । गएको पुस तेस्रो हप्ता काठमाडौंमा भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनले अध्यक्षमा प्रचण्डलाई चयन गर्दै अपुरो केन्द्रीय समिति घोषणा गरेको थियो । अझैसम्म उपाध्यक्ष, महासचिव, सचिवलगायतका केन्द्रीय पदाधिकारी चयन भएको छैन ।
खासगरी महासचिवमा कसलाई ल्याउने भन्ने विवादले गर्दा माओवादी पदाधिकारीविहीन छ । अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा र वर्षमान पुन माओवादी महासचिवको प्रमुख दाबेदार छन् । केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने भनिए पनि कहिले निर्णय हुन्छ भन्ने निश्चित छैन । नेकपा (माओवादी केन्द्र) को हिजोको वैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ । बैठकमा अध्यक्ष प्रचण्डले ३७३ जना केन्द्रीय सदस्यको टुंगो लगाएका हुन् ।




