काठमाडौं । काठमाडौंको बबरमहलस्थित कार्की व्याक्वेटमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ ।
स्थानीय तह निर्वाचनको गम्भीर समीक्षा गर्दै आगामी आम निर्वाचनका लागि योजना बनाउन बोलाइएको बैठक केन्द्रीय कमिटीका अधिकांस सदस्य सहभागी छन् । तर, चार मन्त्री भने सहभागी छैनन् ।
बैठकमा सहभागी सबैले चार मन्त्री खोजिरहेका छन् । तर, उनीहरु कतै देखिएका छैनन् । उनीहरु किन बैठकमा सहभागी भएनन् भन्ने नेतृत्वलाई समेत थाहा छैन ।
बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ सहभागी छैनन् ।
गत जेठ २२ गते एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । पार्टीले मन्त्री फेर्ने निर्णय गरेतापनि फिर्ता हुन नमानेका यी चार मन्त्री केन्द्रीय कमिटी बैठकमा सहभागी नभएका हुन् ।
मन्त्रीबाट फिर्ता नहुने अडानमा पुगेका यी चार मन्त्रीले शुक्रबार पार्टीलाई १० जना सांसदको हस्ताक्षरसहित संसदीय दलको बैठक बोलाउन माग गरेका थिए । तर, शनिबार प्रेम आलेसहित ६ सांसदले उक्त मागबाट पछि हट्दै हस्ताक्षर फिर्ता लिएका छन् ।
बैठकमा स्वास्थ्य राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भएका भवानी खापुङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सिफारिस भएका जीवनराम श्रेष्ठ, शहरी विकासमन्त्री सिफारिस भएका मेटमणी चौधरी र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका शेरबहादुर कुँवर भने सहभागी छन् ।




