काठमाडौँ । मन्त्री परिवर्तन हेरफेरको विषयमा पार्टीभित्र विवाद चलिरहेका बेला नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक मिनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।
आगामी चुनावको तयारी र संगठन विस्तार मुख्य एजेण्डा रहेको भए पनि मन्त्री हेरफेरको विषयमा भइरहेको विवादको विषयमा पनि छलफल हुने जनाइएको छ । साढे ११ बजे पार्टी कार्यालयमा भएको बैठकमा मन्त्रीहरू विरोध खतिवडा र प्रेम आले उपस्थित छन् । मन्त्री रामकुमारी झाँक्री भने अनुपस्थित रहेको एक सदस्यले जानकारी दिए । एकीकृत समाजवादीमा ७१ सदस्यीय रहेको छ ।
बैठकको शुरुमा अध्यक्ष नेपालले एजेण्डा प्रस्तुत गरे पनि मन्त्री हेरफेरको विषयमा बोलेनन् । एकीकृत समाजवादीभित्र मन्त्री परिवर्तनसहितको विषयमा भइरहेको विवादको विषयमा छलफल गर्न चार मन्त्रीसहित १० जना सांसदहरूले शुक्रबार संसदीय दलको बैठक बोलाएका छन् ।




