काठमाडौँ । काठमाडौँ उपत्यकामा घर बनाउने प्रयाेजनकाे जग्गा ४ आना (१३० वर्गमिटर)भन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको भू-उपयोग नियमावली २०७९ ले उपत्यकाकाे आवासीय जग्गा १३० वर्गमिटरभन्दा सानाे हुनेगरी टुक्र्याउन नपाइने व्यवस्था गरेकाे हाे ।
यद्यपि आकार वा क्षेत्रफल अमिल्दो भई सीमानाको अर्को कित्तासँग मिलान गर्न उपयुक्त देखिएमा भने कित्ताकाट हुन सक्ने व्यवस्था गरिएको छ । यसका लागि सम्बन्धित स्थानीय तहले आवश्यक मापदण्ड निर्धारण गर्न सक्ने व्यवस्था ऐनले गरेकाे छ । त्यस्तै, ५०० वर्गमिटरभन्दा सानो कित्ताको हकमा चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुनेगरी कित्ताकाट गर्न पाइने छैन ।
कृषि क्षेत्रको रुपमा तोकिएको जग्गालाई काठमाडौं उपत्यकामा १५.७३ आना अर्थात ५०० वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने भएको छ । तराई र भित्री मधेशको हकमा भने ६७५ वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्न पाइनेछैन ।





