दमौली । नेपाली कांग्रेस व्यास नगरपालिका–७ का नेताले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भनी आधारहीन आरोप लगाइएको बताएका छन् ।
उक्त वडाका ११ जना नेताहरुले आज दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी अनर्गल, आधारहीन र असत्य आरोप लगाई मानमर्दन र लामो प्रजातान्त्रिक यात्रा तथा कांग्रेससँगको आबद्धतामा प्रहार गर्न खोजिएको उल्लेख गरेका छन् ।
प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्षसमेत रहेका व्यास–७ का क्षेत्रीय प्रतिनिधि कुलचन्द्र वाग्लेले निराधार, पूर्वाग्रही, प्रमाणहीन, कपोलकल्पित आरोप लगाई पार्टीबाट निष्काशित गर्न नगरसमितिमार्फत् जिल्ला कार्यसमिति समक्ष सिफारिस गरिएको घटनाप्रति खेद प्रकट गरे ।
पाँच वर्ष वडाध्यक्षको जिम्मेवारी निर्वाह गरेको व्यक्तिलाई पुनःपार्टीको आधिकारिक उम्मेदवार बनाइएको र सबै वडा सदस्य विजयी हुँदा एक वडाध्यक्ष मात्र पराजित भएको कारण पाँच वर्षको अवधिमा स्थानीय मतदाता, जनता, कार्यकर्ता र नेतालाई विश्वासमा लिन नसकेको प्रमाणित भएको वाग्लेले बताए ।
कार्यक्रममा वडाका उपसभापति सिकन्दरप्रसाद गुरुङले कांग्रेसका सबै कार्यकर्तालाई चुनावी प्रचारप्रसारमा प्रेरित गरेर खट्दा पनि पूर्वाग्रहीरूपमा आफूहरुमाथि निराधार आरोप लगाइएको बताए । गुरुङले कारवाहीको सिफारिसकर्ताप्रति समेत छानबिन गरी सत्यतथ्य पत्ता लगाई आवश्यक कदम चाल्न माग गरे ।
नेपाली कांग्रेस व्यास नगरसमिति र कांग्रेस जिल्ला समितिबाट आफूहरुको आस्थाको संरक्षण र न्याय प्राप्त हुने विश्वास लिइएको उनले बताए । पत्रकार सम्मेलनमा वडा कार्यसमितिबाट कारवाही सिफारिस परेका ११ जनाको उपस्थिति रहेको थियो ।




