सम-सामयिक

वायुयान १४,५०० फिटको उचाइमा दुर्घटना भएको जानकारी गराउँदा स्तब्ध छौँ : तारा एअर

काठमाडौँ । तारा एअरले वायुयान १४,५०० फिटको उचाइमा दुर्घटनाग्रस्त भएको जनाएको छ । बिहान विज्ञप्तिमार्फत एअरले वायुयान मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भिरमा १४,५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जनाएको हो ।

वायुयान अन्तिम पटक जोमसोम टावरसँग आइतबार बिहान १०ः०७ बजे घोडेपानीबाट सम्पर्कमा आएपश्चात् सम्पर्कविहीन भएको थियो । ‘आइतबार बिहान पोखराबाट जोमसोम तर्फ ९ः५५ बजे उडेको तारा एअरको ९ एन-एईटी-डीएचसी-६ ट्विनअटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भिरमा १४,५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउँदा स्तब्ध छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

अहिले उद्धारकर्मीहरू दुर्घटना स्थलमा पुगी उद्धार कार्य जारी रहेको पनि तारा एअरले जनाएको छ । ‘प्रतिकुल मौसम तथा जटिल भूगोलका बाबजुद पनि नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत आज बिहानैदेखि हवाई तथा स्थलमार्गबाट खोजी गर्दा उक्त दुर्घटना स्थल फेला परेको छ,’ अगाडि भनिएको छ, ‘हाल उद्धारकर्मीहरू दुर्घटना स्थलमा पुगी उद्धार कार्य जारी रहेको ब्यहोरा जानकारी गराउँदछौ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *