समाचार

बेपत्ता तारा एयरको विमानमा धनुषाका एकै परिवारका सात जना

काठमाडौं । हिजो (सोमबार) विहानदेखि सम्पर्कविहीन तारा एयरको एक विमानमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको उक्त जहाज हिजो बिहानदेखि सम्पर्कविहीन छ ।

सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ जना सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका-११, लोटागाउँका सात जना रहेको पुष्टि भएको छ ।

विमानमा राजनकुमार गोले, उनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । उनीहरू मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए ।

विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको छ भने गाउँले चिन्तित भएका छन् । सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ जना सवार रहेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *