समाचार

तालमेलको इमान्दारीपूर्वक पालना होस् : विश्वप्रकाश शर्मा

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पाँच दलबीच भएको तालमेलको इमान्दारीपूर्वक पालना गर्न आग्रह गरेका छन् । कांग्रेस कमजोर भएर होइन संविधान रक्षाका लागि गठबन्धन गरिएको उनले स्पष्ट पारे ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहीबार कांग्रेस र नेकपा (माओवादी केन्द्र) को नगरस्तरीय संयुक्त आमसभामा महामन्त्री शर्माले तालमेल गरेका उम्मेदवारलाई जिताउन आग्रह गरे । तालमेल भनेको विविधतामा एकता रहेको उल्लेख गर्दै उनले जीवन विविधताकै कारणले चल्ने उल्लेख गरे । ‘जीवन विविधताकै कारणले चल्छ, चिन्दै नचिनेको सँग बिहे भएर जीवन बित्छ, यहाँ त सँगै सहकार्य गर्ने साथीलाई मतदान गर्ने कुरा छ, ढुक्कले गर्नुहोस्’, महामन्त्री शर्माले भने ।

अहिलेको समयमा कांग्रेस र एमाले दुवैको घोषणापत्र पढेर विवेक पुर्‍याएर मतदान गर्न उनले मतदातासामु आग्रह गरे । तिलोत्तमामा गठबन्धनका उम्मेदवारले जारी गरेको प्रतिबद्धतापत्रको समेत उनले प्रशंसा गरे । तिलोत्तममा चक्रपथ निर्माण गर्ने योजना उत्कृष्ट रहेको उल्लेख गर्दै महामन्त्री शर्माले तिलोत्तमाको प्रशासनिक भवनलाई अस्पतालमा रुपान्तरण गर्ने योजनाको तारिफयोग्य भएको बताए ।

‘जनताको स्वास्थ्यभन्दा ठूलो जनप्रतिनिधि बस्ने भवन हुँदैन’, उनले भने । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले संविधान बचाउनका लागि गठबन्धन गरिएको बताए । कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले अझै पनि नेपाली समाजमा महिलालाई माथि उठ्न नदिइएको उल्लेख गर्दै यसको अन्त्यका लागि कांग्रेसलाई तीन वटै तहमा विजयी गराउन आग्रह गरे ।

कांग्रेस नेता चन्द्र भण्डारीले एमाले सरकारले सपना बाँड्ने बाहेक अन्य केही काम नगरेको बताए । कोरोना महामारीमा जनताले सिटामोल, अक्सिजन र भेन्टिलेटर खोजेको बेला एमाले सरकार भ्रष्टाचारमा लिप्त भएको उनको आरोप थियो ।
प्रदेशसभा सदस्य रमा अर्यालले महिलाका समस्या समाधान गर्न नेतृत्वमा महिला आउनुपर्ने बताइन् । कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार एवं कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउन उम्मेदवार बनेको धारणा राखे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *